हाउन्ड्सलाई हराएर गोल्डेनगेट फाइनलमा

जेष्ठ २१, २०८२

कान्तिपुर संवाददाता

Defeated the Hounds in the Goldengate Final

काठमाडौँ — हाउन्ड्स एकेडेमीलाई हराएर गोल्डेनगेट बास्केटबल क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को फाइनलमा पुगेको छ ।

बुधबार शीर्ष दुई टिमबीचको भिडन्तमा गोल्डेनगेटले हाउन्ड्सलाई ८१–७० स्कोरले हराएर एक खेलअघि नै फाइनल स्थान सुरक्षित गर्‍यो । ९ खेलबाट १७ अंक जोडेको गोल्डेनगेट शीर्षस्थानमा छ ।

पहिलो खेलमा टाइम्ससँग पराजित भए पनि गोल्डेनगेटले त्यसयता लगातार ८ खेल जितेको छ । लिगमा गोल्डेनेगटले हाउन्ड्सविरुद्धको दुवै खेल जित्न सफल भयो । यसअघि गोल्डेनेटले हाउन्ड्सलाई ८०–७५ ले हराएको थियो ।

दोस्रो हार बेहोरेको हाउन्ड्स ९ खेलबाट १६ अंकसहित दोस्रो स्थानमा छ । हाउन्ड्सले अन्तिम खेलमा तेस्रो स्थानको टाइम्स बास्केटबल क्लबसँग खेल्नेछ । फाइनल पुग्न हाउन्ड्सले उक्त खेल जित्नुपर्नेछ । टाइम्स विजयी भएमा दुवैको समान १७ अंक पुग्नेछ । यस्तोमा अंक स्कोरको आधारमा फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । 

कीर्तिपुर कभर्डहलमा भएको खेलको पहिलो क्वाटरमा हाउन्ड्सले १८–१७ को अग्रता लिएको थियो । तर त्यसपछि गोल्डेनगेटले खेलमा पुनरागमन गर्दै अग्रता लियो । गोल्डेनगेटले दोस्रो क्वाटर २७–१५ ले आफ्नो पक्षमा पारेपछि हाफटाइमसम्म ४४–३३ को अग्रता बनायो ।

तेस्रो क्वाटरमा हाउन्ड्स खेलमा फर्कियो र १८–१४ ले आफ्नो पक्षमा पार्‍यो । तर चौथो क्वाटरअघि गोल्डेनगेटले नै ५८–५१ को अग्रता कायम राख्यो । चौथो तथा अन्तिम क्वाटरमा गोल्डेनगेटले २३–१९ को अग्रता बनाएपछि खेल जित्यो ।

गोल्डेनगेटका अभिषेक सिंहले २२ स्कोर गरे । हाउन्ड्सका सौरभ श्रेष्ठले १८ स्कोर जोडे । गोल्डेनगेटका सुदीप पौडेल मोस्ट भ्यालुएबल प्लेयर चुनिए ।

कान्तिपुर

Link copied successfully