जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डमा २८ स्वर्णसहित तानसेन पहिलो

जेष्ठ २०, २०८२

माधव अर्याल

Tansen first with 28 golds in district level president running shield

पाल्पा — पाल्पाको तानसेन टुँडिखेलमा मंगलबार सम्पन्न १६ औं जिल्लास्तरीय अन्तरपालिका राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि तानसेन नगरपालिकाले जितेको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका सहभागी रनिङ सिल्डअन्तर्गत २८ स्वर्ण, १३ रजत १७ काँस्य गरी ५८ पदकसहित तानसेन नगरपालिका पहिलो भएको लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य राजु महर्जनले जानकारी दिए । 

जिल्ला खेलकुद विकास समिति पाल्पाले आयोजना गरेको प्रतियोगितामा ९ स्वर्ण, १४ रजत र १३ काँस्य गरी ३६ पदकसहित रामपुर नगरपालिका दोस्रो भएको छ । 

५ स्वर्ण, ३ रजत र ५ काँस्य गरी २५ पदकसहित तिनाउ गाउँपालिका तेस्रो भएको छ । ४ स्वर्ण, ९ रजत र ११ काँस्य गरी २४ पदकसहित बगनासकाली गाउँपालिका चौथो भएको छ । प्रतियोगिता अन्तर्गत माथागढी गाउँपालिकाले ४ स्वर्ण, ४ रजत र ७ काँस्यसहित १५ पदक जितेको छ । रम्भा गाउँपालिकाले २ स्वर्ण, ३ रजत र ३ कांस्य पदक जितेको छ । 

रिब्दीकोट गाउँपालिकाले २ स्वर्ण, ३ रजत र ६ कास्य पदक जित्दा निस्दी गाउँपालिकाले २ रजत एक कास्य पदक हात पारेको छ । यस्तै रैनादेबी छहरा गाउँपालिकाले ३ रजत र ५ कास्य पदक जित्दा निस्दी गाउँपालिकाले २ रजत र १ काँस्य प्राप्त गरेको छ । पूर्वखोला गाउँपालिकाले भने एक कास्य पदकमै चित्त बुझाएको छ । 

प्रतियोगितामा विजयी खेलाडीलाई जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदी, तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्की, लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य राजु महर्जन, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष दीपक घिमिरे लगायतले शिल्ड, पदक, मेडल, प्रमाणपत्र वितरण गरे । 

प्रतियोगितामा ३ सय ६० विद्यार्थीले भाग लिएका थिए । ५४ स्वर्ण पदकका लागि  भलिबल, कवड्डी, दौड, रिलेदौड, हाइजम्प, लङ्जम्प, ट्रिपलजम्प, सटपुट, ज्याभलिङ्थ्रो, कराते, तेक्वान्दो लगायतका खेलमा प्रतिस्पर्धा गराइएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजु बयम्बुले जानकारी दिए । प्रतियोगितामा १३ देखि १८ वर्षसम्मका खेलाडीले भाग लिएका थिए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully