बास्केटबल लिगमा टाइम्स र रोयललाई सफलता

जेष्ठ २०, २०८२

कान्तिपुर संवाददाता

Success to the Times and Royals in the Basketball League

काठमाडौँ — टाइम्स बास्केटबल क्लब र रोयलले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मंगलबार जित पाएको छ ।

कीर्तिपुर कभर्डहलमा टाइम्सले सामाखुसी युथ क्लबलाई ९७–७३ स्कोरले पराजित गरेको हो । जितपछि ९ खेलबाट १५ अंक जोडेको टाइम्स फाइनल पुग्ने होडमा छ ।

एक खेल कम खेलेको गोल्डेनगेट बास्केटबल क्लब र हाउन्ड्स एकेडेमीको पनि १५ अंक नै छ । गोल्डेनगेट र हाउन्ड्सले २ खेल खेल्न बाँकी छ ।

टाइम्सले सामाखुसीमाथि चारै क्वाटरमा दबाब बनाएर अग्रता लिएको थियो । टाइम्सले २०–१५, २८–२४, २३–२१, २५–१३ ले आफ्नो पक्षमा पारेको थियो । टाइम्सका सदिश प्रधानले ३३ अंक स्कोर गरे । सामाखुसीका प्रज्वल महर्जनले २१ स्कोर जोडे । टाइम्सका मनीष केसी मोस्ट भ्यालुएबल प्लेयर चुनिए । टाइम्सले अन्तिम खेल हाउन्ड्ससँग खेल्नेछ ।

दोस्रो खेलमा रोयलले कीर्तिपुरलाई ९९–९६ स्कोरले हरायो । पहिलो क्वाटरमा कीर्तिपुरले २६–२५ को अग्रता बनायो । तर, रोयलले दोस्रो क्वाटरमा पुनरागमन गरी २८–२१ ले आफ्नो पक्षमा पारेको हो । तेस्रो क्वाटर रोयलले २०–१७ जोड्डा चौथो क्वाटरमा कीर्तिपुरले ३२–२६ को अग्रता लिए पनि हार टार्न सकेन । ९६–९६ स्कोर हुँदा रोयलका सुजन महर्जनले थ्री प्वाइन्ट स्कोर गर्दै खेल जिताए ।

रोयलका सुजन महर्जन मोस्ट भ्यालुएबल प्लेयर भए । रोयलका लागि प्रसन्नध्वज मास्केले ३१ स्कोर गरे । कीर्तिपुरका निश्चल महर्जनले ३३ स्कोर जोडे । तेस्रो जितपछि ९ खेलबाट १२ अंक जोडेको रोयल कीर्तिपुरलाई पछि पार्दै चौथो स्थानमा उक्लेको छ । लिगमा बुधबार शीर्ष दुई टोली गोल्डेनगेट र हाउन्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully