सेनाका प्यूठ बने अन्नपूर्ण म्याराथन च्याम्पियन

महिलातर्फ विजयी तीनैजना जुम्लाको एकै गाउँका

जेष्ठ २०, २०८२

आश गुरुङ

Sena Pyuth became Annapurna Marathon champion

घान्द्रुक, कास्की — कास्कीको अन्नपूर्ण बेस क्याम्प (आधार शिविर)मा आयोजना गरिएको अन्नपूर्ण म्याराथन पाँचौं संस्करणमा नेपाली सेनाका प्यूठ तिलकबहादुर सुनुवार च्याम्पियन बनेका छन् ।

अन्नपूर्ण हिमाल आरोहणको अवसर पारेर मंगलबार अन्नपूर्ण आधार शिविर (४,१३० मि.) देखि अन्नपूर्ण गाउँपालिका १०, घान्द्रुकस्थित मेश्रम बराह मावि प्रांगण (१,९४० मि.) सम्म अन्नपूर्ण म्याराथनको पाँचौं संस्करणको आयोजना गरिएको थियो । निर्धारित ४२ दशमलव १९५ किलोमिटर दूरी ४ घण्टा २४ मिनेट ४ सेकेन्डमा पार गर्दै सुनुवार अन्नपूर्ण म्याराथनको पाँचौं संस्करण च्याम्पियन बनेको हो । उनले नगद १ लाख ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाए । रामेछापको उमाकुण्ड गाउँपालिका ६, गुप्तेश्वरका उनी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आबद्ध छन् ।

सेनाकै सुवेदार होमलाल श्रेष्ठले निर्धारित दूरी ४ घण्टा ३० मिनेट ४८ सेकेन्डमा पार गर्दै फस्ट रनरअप बने । उनले नगद १ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र पाए । रामेछापको गोकूलगंगा गाउँपालिका ४, बेतालीका उनी साविक विजेता हुन् । पहिलोपटक भाग लिँदा सेकेन्ड रनरअप बनेका उनी तेस्रोमा फस्ट रनरअप र गत वर्ष विजयी बनेका थिए ।

म्यारथनमा जुम्ला तातोपानी गाउँपालिका ७, सर्मीका दलबहादुर कुँवर सेकेन्ड रनरअप बन्दै नगद ७५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाए । उनले निर्धारित दूरी ४ घण्टा ३३ मिनेट २१ सेकेन्डमा पार गरे ।

Sena Pyuth became Annapurna Marathon champion

महिलातर्फ सुनमाया बुढा विजयी बनिन् । अल्ट्रा धावक उनले निर्धारित दूरी ४ घण्टा ४१ मिनेट २५ सेकेन्डमा पार गर्दै महिलातर्फको उपाधि जितेकी हुन् । उनले नगद १ लाख ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । निर्धारित दूरी ४ घण्टा ५० मिनेट २४ सेकेन्डमा पार गर्दै राममाया बुढा फस्ट रनरअप बनिन् । उनले नगद १ लाख रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । 

सेकेन्ड रनरअप कल्पना बुढा बनिन् । उनले निर्धारित दूरी ५ घण्टा २ मिनेट ४० सेकेन्डमा पार गरिन् । उनले ७५ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । महिलातर्फ विजयी तीनैजना कर्णालीको जुम्ला जिल्ला पातारासी गाउँपालिका २, पैरे गाउँका हुन् ।

आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अनुसार यसवर्षदेखि गण्डकी अवार्ड र अन्नपूर्ण गाउँपालिका अवार्ड राखेर प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको छ । यस वर्ष गण्डकी र अन्नपूर्ण गाउँपालिकातर्फ अन्नपूर्ण-११, घान्द्रुकका सचिन गुरुङ विजयी बन्दै नगद ३० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाए ।

प्रतियोगितामा २१ जना महिलाले नाम दर्ता गरेकोमा १४ जनामात्रै सहभागी भएको र पुरुषतर्फ ६३ जना सहभागी भएको म्याराथन प्राविधिक संयोजक रिक्की योन्जनले जानकारी दिए । बेलायत, थाइल्यान्ड, स्वीट्जरल्यान्ड, स्पेन, नेदरल्यान्ड र अस्ट्रेलियाका धावक गरी ७ जना विदेशी धावक सहभागी भएकोमा स्वीट्जरल्यान्डकी मइरिअम सभरी विजयी बन्दै नगद ३० हजार रुपैयाँ प्राप्त गरिन् । प्रतियोगितामा बेलायतबाट तमू प्ये ल्हु संघ यूकेसम्बद्ध ४ जना नेपालीसमेत सहभागी थिए ।

विजयीलाई गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ, अन्नपूर्ण गाउँपालिका १० का वडाध्यक्ष गौतम गुरुङ, ११ का वडाध्यक्ष हिमबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेको आयोजक अन्नपूर्ण पर्यटन समितिका महासचिव दिलीप गुरुङले जानकारी दिए ।

धावकले अन्नपूर्ण आधार शिविरबाट माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकको मेश्रम बराह माविको खेल मैदानसम्म दौडिएका थिए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully