काठमाडौँ — नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य मंगलबार सुरु ११ औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपमा ६ अन्डर ६६ को उत्कृष्ट स्कोरसहित अगाडि रहेका छन् ।
उनले नेपालकै वाङचेन ढोन्डुपलाई २ स्ट्रोकले पछि पारे । ढोन्डुप ४ अन्डर ६८ को स्कोरसहित दोस्रो स्थानमा छन् । नेपालका राहुल विश्वकर्मा, भारतका सुमित कोटवाल र बंगलादेशका मोहम्मद सहाब उद्दिन २ अन्डर ७० सहित संयुक्त तेस्रो स्थानमा छन् ।
इभन–पार ७२ को स्कोरमा नेपालका प्रकृत तामाङ र श्रीलंकाका रेशन अलगामाले छैटौ ओगटे । नेपालका टासी छिरिङ, भुटानका डेचेन लेन्डुप र निमादोर्जी तामाङ र भारतका भिभान उभयाकर २ ओभर ७४ को स्कोरमा संयुक्त आठौं स्थानमा छन् ।
सदभावले बोगीरहित फ्रन्टनाइन खेल्ने क्रममा पहिलो, सातौं र आठौं होलमा बर्डी प्रहार गर्दै फ्रन्टनाइन ३ अन्डर ३३ मा सके । यसपछि ब्याकनाइनमा सदभावले ११, १२, १४ र १८ औं होलमा बर्डीको सफलता पाए । १३ औं होलमा भने एक शट खेर फाले । उनले ब्याकनाइन पनि ३ अन्डर ३३ खेले ।
वाङचेनले पहिलो, छैटौं र नवौं होलको बर्डीबाट फ्रन्टनाइन ३ अन्डर ३३ मा सकेका थिए । १० र १२ औं होलमा पनि एक–एक शट बचाएका उनले १५ औं होलमा बोगी सामना गरेसँगै ब्याकनाइन १ अन्डर ३५ मा पूरा गरे ।
महिलातर्फ भारतकी अभान्थी विवेक १ अन्डर ७१ सहित शीर्षस्थानमा रहिन् । उनले नेपालकी तारा कार्की चित्रकारलाई ९ स्ट्रोकले पछि पारिन् । ताराले ८ ओभर ८० खेलिन् ।
अभान्थीले फ्रन्टनाइनमा ३ अन्डर ३३ र ब्याकनाइनमा २ ओभर ३८ खेलिन् । उनले तेस्रो, पाँचौं, सातौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरिन् । दोस्रो र छैटौं होलमा बोगी खेपिन् । ब्याकनाइनमा भने १६ औं होलको बर्डीविरुद्ध १२, १५ र १८ औं होलमा एक–एक शट खेर फालिन् ।
नेपालकी ताराले पाँचौं होलको बर्डीले फ्रन्टनाइन १ अन्डर ३५ मा सकिन् । तर ब्याकनाइनमा बिर्सनलायक प्रदर्शन गरिन् । उनले ब्याकनाइनमा कुल ६ होलमा बोगी खेप्दा १२ औं होलमा ट्रिपल बोगी प्रहार गर्न पुगिन् । यो सँगै ब्याकनाइन ९ ओभर ४५ मा पूरा गरिन् । भारतकी दिया क्रिस कुमार ८४ स्कोरसहित तेस्रो तथा नेपालकी एन्जिला योञ्जन (९१) र अभानी राई (९४) का साथ क्रमशः चौथो र पाँचौं स्थानमा छन् ।
यू–१६ तर्फ रुबेन थापा ८० स्कोरसहित शीर्षस्थानमा रहे । ९० स्कोर बनाएका दिप्सन लामा दोस्रो र ९३ स्कोरसहित दिपेश श्रेष्ठ तेस्रोमा रहे ।
पुरुषको टिम स्पर्धामा नेपाल ‘ए’ टिम (सदभाव आचार्य र राहुल विश्वकर्मा) १ सय ३६ स्कोरसहित अगाडि छ । नेपाल ‘बी’ टिम (टासी छिरिङ र वाङ्चेन ढोन्डुप) १ सय ४२ स्कोरसहित दोस्रो स्थानमा छ ।
बंगलादेशका सफिकुल इस्लाम र मोहम्मद सहाब उद्दिन १ सय ४५ स्कोरसहित तेस्रो स्थानमा छ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले प्रतियोगिताको उद्घाटन गरेका थिए । तीन दिने ५४ होलको प्रतिस्पर्धामा नेपालसहित दक्षिण एसियाका बंगलादेश, भुटान, श्रीलंका र भारतका गरी ५७ खेलाडीको सहभागिता छ ।
यो प्रतियोगिता विश्व एमेच्योर गल्फ र्याङकिङ (डब्लूएजीआर) द्वारा मान्यता प्राप्त हो । प्रतिस्पर्धी पुरुष र महिला खेलाडीले र्याङकिङ अंक पाउनेछन् ।
