काठमाडौँ — २ घन्टा १५ मिनेट ०३ सेकेन्ड । यो म्याराथन दौडको कीर्तिमानी टाइमिङ हो । दक्षिण एसियाली खेलकुदको यो टाइमिङ ३८ वर्ष भयो नेपाली धावक वैकुण्ठ मानन्धरको नाममा अटल छ ।
भारतको कोलकातामा सन् १९८७ मा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा वैकुण्ठले उक्त कीर्तिमानी समयमा म्याराथनको स्वर्ण जितेका थिए । सागको १३ औं संस्करण सकिँदासम्म पनि उक्त कीर्तिमान तोड्ने दक्षिण एसियाली धावक निस्केका छैनन् ।
वैकुण्ठको त्यही समयलाई साइकलको गौरवशाली इतिहास बोकेको पञ्चनारायण अष्टनारायण साइकल पसलले जीवन्त पार्ने प्रयास गरेको छ ।
१०० वर्षको इतिहास बोकेको उक्त पसल (हाल प्याङ्क नेपाल) आफ्नो हीरक जयन्तीको अवसरमा वैकुण्ठ मानन्धरलाई सम्मान गर्नुका साथै उनको नाम र टाइमिङमा साइकलको ‘लिमिटेड एसिडन’ निकालेको छ ।
आज जुन ३ विश्व साइकल दिवस पनि हो । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले प्याङ्कको तर्फबाट सम्मानस्वरुप ओलम्पियन धावक वैकुण्ठलाई उक्त विशेष साइकल हस्तान्तरण गरिन् । ‘लिगेसी इन मोसन’ को अवधारणामा साइकल र दौडलाई जोड्ने आफ्नो संस्थाको प्रयास भएको प्याङ्क नेपालका सीईओ तिरेक मानन्धरले बताए । उनले भने, ‘नेपालमा पहिलो पटक साइकल भित्र्याउने मेरो पुर्खाको लिगेसी र वैकुण्ठ मानन्धरको गतिलाई मिलन गराउने प्रयास हो । यो कदमले नेपाली खेलकुदमा नयाँ आयाम थप्ने विश्वास छ ।’
प्याङ्क नेपाल नेपालको पहिलो साइकल पसल हो । असन कमलाक्षीमा सन् १९२५ मा आफ्नो पुर्खाले भारतबाट ६ वटा साइकल ल्याएर व्यवसाय सुरु गरेको सीईओ मानन्धरले स्मरण गराए । पाँचौं पुस्ताको रूपमा आफूले उक्त व्यवसाय सम्हालिरहेको उनले सुनाए । व्यक्ति जिवितै रहँदा उसको उपलब्धिलाई जीवन्त पार्ने प्रयास गरिएको उनले बताए ।
चारवटा ओलम्पिक खेलेका नेपालका एक्लो धावक वैकुण्ठ मानन्धरले आफ्नो जीवनको महत्वपूर्ण उपलब्धिलाई ब्रान्डिङ गरिएकाले यो साइकल प्रतीक रूपमा रहने बताए । उनले भने, ‘मेरो नाम र उपलब्धिलाई ब्रान्डिङ गरिएको साइकल नै उपहार पाएको छु । यो मेरो जीवनको महत्वपूर्ण प्रतीक हुनेछ ।’
प्याङ्क नेपालले वैकुण्ठ नाममा १०० वटा साइकललाई लिमिटेड एसिडन बनाएको छ । त्यसको बिक्रीबाट उठेको केही प्रतिशत रकम रोयल्टीस्वरुप वैकुण्ठ मानन्धर खेलकुद नेपाल संस्थालाई प्रदान गर्नेछ ।
कार्यक्रममा लक्की ड्रबाट खेल पत्रकार नयाँ पत्रिका दैनिकका रमेश सुवेदीले साइकल प्राप्त गरेका थिए ।
