१५औँ राष्ट्रपति खेलकुद नजिकिँदा सुदूरपश्चिममा तयारी शून्य

जेष्ठ १९, २०८२

रञ्जना बिसी

Preparations zero in Far West as 15th Presidential Games approaches

कैलाली — १५औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेशका खेलाडी प्रदेशस्तरीय छनोट प्रतियोगिता नहुनाले अन्योलमा परेका छन्। यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा हुने प्रतियोगितामा सहभागिताका लागि तयारी गर्नुपर्नेमा प्रदेशले अझै प्रतियोगिता आयोजना गर्न सकेको छैन।

सुदूरपश्चिम खेलकुद महासंघ र कैलाली जिल्लाका विभिन्न खेल संघका प्रतिनिधिहरू( विशेषगरी कबड्डी, तेक्वान्दो, भलिबल, उसु, कराँते, एथलेटिक्सलगायतका संघहरूले मुख्यमन्त्री कमलबहादुर शाह र सामाजिक विकासमन्त्री मेघराज खड्कालाई भेटी गम्भीर ध्यानाकर्षण गराएका छन्।

१४ औँ संस्करणमा उत्कृष्ट प्रदर्शन गरे पनि अहिले प्रदेश खेलकुद परिषद्को सदस्य सचिव नतोकिनु र नेतृत्वविहीन अवस्था रहनुले प्रतियोगिता सञ्चालनमा समस्या देखिएको खेल पदाधिकारीहरूको गुनासो छ। यसले गर्दा प्रदेशकै इज्जत दाउमा पर्ने उनीहरूको भनाइ छ।

खेल पदाधिकारीहरूसँग मुख्यमन्त्री शाहले 'आज भोलि' भित्रै सूचना प्रकाशन गरेर प्रतियोगिता गर्ने तयारी रहेको जानकारी गराएका छन्। सामाजिक विकासमन्त्री खड्काले पनि सम्बन्धित विषयमा चासो देखाउँदै यथाशीघ्र प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

१४ औँ राष्ट्रपति राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर प्रतिष्ठा बनाएको सुदूरपश्चिमले यसपालि सहभागी हुन नसके खेलाडीहरूमा गम्भीर असर पर्ने बताउँदै कैलाली जिल्ला उसु संघका अध्यक्ष राजीव गुप्ताले प्रदेशको इज्जत जोगाउनका लागि भए पनि प्रतियोगितामा अनिवार्य उपस्थित हनु पर्ने बताए ।  तर, प्रदेश खेलकुद परिषद्को नेतृत्व समेत नटुंगिएको अवस्थामा प्रदेश सरकार प्रतियोगिता गर्न सक्नेमा शंका रहेको खेलकुद संघका पदाधिकारीहरूको धारणा छ।

रञ्जना बिसी

Link copied successfully