नेपाल हेरिटेज रन जेठ २४ मा

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

Nepal Heritage Run on May 24

काठमाडौँ — यही जेठ २४ गते नेपाल हेरिटेज रन हुने भएको छ । ललितपुर र काठमाडौंको सम्पदालाई जोड्ने गरी उक्त रन गरिने आयोजक रेस नेपालले जनाएको छ ।

२५ किमि दूरीमा दौडको रुट रहनेछ । दशरथ रंगशालाबाट सुरु हुने दौडले पाटन दरबार स्क्वायर, पशुपति क्षेत्र गौशाला, वसन्तपुर दरबार स्क्वायर, स्वयम्भूजस्ता सम्पदालाई फन्को मार्ने सहआयोजक नेपाल एथलेटिक्स परिवारका राजन खत्रीले जानकारी गराए । २५ किमिसँगै विद्यालयस्तरीय र भेट्रानको ५ किमि दौड पनि हुनेछ । तीनै विधाका विजेताले नगद पुरस्कार पाउनेछन् । 

२५ किमिका महिला र पुरुष विजेताले एक लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार पाउनेछन् । दसौं स्थानसम्मका विजेताले नगद पुरस्कार पाउने रेस नेपालका टीएस ठकुरीले बताए । ५ किमिमा हुने दुवै इभेन्टका विजेताले १०, दोस्रोले ६, तेस्रोले ३ हजार तथा चौथोदेखि दसौंसम्मले १–१ हजार पाउनेछन् ।

हेरिटेज रनभन्दा अगाडि विश्व रनिङको साझा संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) को बोर्ड बैठक र रनिङ कन्फ्रेन्स हुने जानकारी गराइएको छ । बैठकमा दुई दर्जनभन्दा बढी देशका प्रतिनिधि आउनेछन् ।

कान्तिपुर

Link copied successfully