पर्सा — वीरगन्ज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जितेको छ । वीरगन्जस्थित नारायणी रंगशालामा आइतबार सम्पन्न जिल्ला स्तरीय प्रतियोगितामा महानगरपालिकाले ३१ वटा स्वर्ण पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।
प्रतियोगितामा पर्सागढी नगरपालिका १८ स्वर्ण पदकसहित दोस्रो, सखुवा प्रसौनी गाउँपालिका ४ स्वर्ण पदकसहित तेस्रो भयो । लगातार तीन वर्षसम्म प्रथम हुने टोलीले शिल्ड स्थायी रूपमा राख्न पाउने व्यवस्था छ ।
लगातार तेस्रो पटकसम्म जित हात पारेर भित्र्याइएको शिल्ड आइतबार एक कार्यक्रमकाबीच महानगर प्रमुख राजेशमान सिंहलाई हस्तान्तरण गरिएको छ । शिल्ड ग्रहण गर्दै महानगर प्रमुख सिंहले खेलाडीहरूको मिहिनेत र समर्पणको प्रशंसा गरे । उनले भविष्यमा खेलकुद क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
