पाल्पा — तेस्रो न्यू युथ युनियन कप खुला फुटबल प्रतियोगिताको उपाधि दमकडा ब्रदर्श पाल्पाले हात पारेको छ । उसले पेनाल्टी सुटआउटमा भगवती युवा क्लब तानसेनलाई ६–५ ले पछि पार्दै उपाधि जितेको हो ।
तानसेनको टुँडिखेल मैदानमा भएको फाइनलमा निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टीको सहारा लिनु परेको हो । तानसेनको न्यु युथ युनियन क्लबले राखेको प्रतियोगितामा दमकडाले उपाधि जितेसँगै नगद १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र हात पारेको छ ।
उपविजेता बनेको भगवती युथले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । फाइनल जितेको दमकडा ब्रदर्शका अनुज गैरे प्लेयर अफ दि म्याच भएका छन् ।
विजेता खेलाडीलाई पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, प्रहरी उपरीक्षक पवनकुमार भट्टराई, तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्की, न्यू युथ युनियन क्लबका अध्यक्ष तामबहादुर कुमाल लगायतले नगद, ट्रफी, मेडल, प्रमाणपत्र बितरण गरे । १२ टिमको सहभागीता रहेको प्रतियोगितामा उत्कृष्ट गोलरक्षक दमकडाकै सुजन सिङ्जाली भए ।
प्रतियोगिता अवधिभरका उत्कृष्ट डिफेन्डर भगवती युवाका सुमित मल्लाह बनेका छन् भने उदाउँदो खेलाडी पाल्पा फुटबल एकेडेमीका लेम बहादुर दर्लामी भए । प्रतियोगिताका सर्वाधिक गोलकर्ता भगवतीका सुरज चौधरी भए । प्रतियोगिता अवधिकै सर्वश्रेष्ठ खेलाडीको पुरस्कार दमकडा ब्रदर्शका कप्तान आशिष रानालाई प्रदान गरिएको छ ।
प्रतियोगितामा फर्साटिकट युथ क्लब, मनोभाव फुटबल क्लब, सम्पूर्ण युवा क्लब र योङग ब्यायज फुटबल क्लब रुपन्देहीबाट सहभागी थिए ।
यसबाहेक पाल्पाकै सराई फुटबल क्लब कसेनी माथागढी, ज्योतिपुञ्ज युथ क्लब रामपुर, भगवती युथ क्लब तानसेन, न्यू हिमाली युवा क्लब चिलाङ्दी बगनासकाली, पाल्पा फुटबल एकाडेमी तानसेन, दमकडा ब्रदर्श, न्यू युथ युनियन तानसेनले भाग लिएका थिए । तानसेन नगरपालिका संरक्षक रहेको प्रतियोगितामा प्राविधिक सहयोग पाल्पा जिल्ला फुटबल संघले गरेको थियो ।
