स्कटल्यान्डसँग नेपालका स्मरणीय क्षणहरू

जेष्ठ १८, २०८२

विनोद पाण्डे

Memorable moments of Nepal with Scotland

लन्डन — विश्वकप क्रिकेट लिग–२ शृंखलाको मिसनमा नेपाली राष्ट्रिय क्रिकेट टोली डन्डी आइसकेको छ । मंगलबार सुरु हुने लिग–२ मा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग २–२ खेल खेल्नेछ । नेपालको लिग–२ मा यो चौथो शृंखला हो । स्कटल्यान्डमा क्रिकेट खेल्न नेपाली टोली आइपुगेको यो तेस्रो पटक हो । नेपालले स्कटल्यान्डसँग खेलेका केही अविस्मरणीय खेल यस्ता छन् :

अनिलको शतकले दिएको उर्जा

ऐर (जुलाई २९, २०१५)

स्कटल्यान्ड र उत्तरी आयरल्यान्डमा भएको ट्वान्टी–२० विश्वकप छनोटको निराशाजनक प्रदर्शनपछि नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा स्कटल्यान्डविरुद्ध दुई खेल खेलेको थियो । स्थानीय स्कटिस कन्डिसनमा खेल्न नेपाललाई त्यति सजिलो थिएन । वर्षाका कारण ३६ ओभरमा छोट्याइएको खेलमा स्कटल्यान्डले कप्तान प्रेस्टन मोमसेनको ७८ रनमा ७ विकेट गुमाई २ सय ३५ रन बनायो । कोन डी ल्याङ्गेले ४१ बलमा ४ चौका र २ छक्कासहित अविजित ५५ रन बनाएपछि स्कटल्यान्ड बलियो बनेको थियो ।

महेश क्षेत्रीलाई २१ र ज्ञानेन्द्र मल्ललाई १८ रनमा गुमाए पनि अनिल मण्डल र कप्तान पारस खडकाको अविश्वसनीय ब्याटिङपछि नेपाल विजय नजिक पुगेको थियो । पारसले ५५ बलमा ४ चौका र २ छक्कासहित ७० रन बनाए । उनी र शरद भेषावकर लगातार बलमा आउट भए । अनिलले १ सय रन बनाए । त्यसका लागि उनले ९३ बलमा ९ चौका र १ छक्का प्रहार गरे । तर अन्तिम २ ओभरमा २५ रन बनाउन नसक्दा नेपालले ३ रनको हार बेहोर्नुपर्‍यो । नेपालले ५ विकेट गुमाई २ सय ३२ रनमात्र बनाउन सक्यो । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा अनिलले नेपाली खेलाडीको रूपमा बनाएको पहिलो शतक अन्य नेपाली खेलाडीका लागि आत्मविश्वासको एउटा कारण बन्यो ।

स्कटिस भूमिमा ऐतिहासिक जित

ग्लास्गो (जुलाई १३, २०२२)

एसोसिएट राष्ट्रको शीर्ष टोली स्कटल्यान्डविरुद्ध नेपाली बलर पुरै हाबी भएका थिए । सोमपाल कामी र मोहम्मद आदिल आलमले ३–३ विकेट लिएपछि स्कटल्यान्डले ३० ओभरमा ९५ रन बनाउँदा ९ विकेट गुमाइसकेको थियो । गेभिन मेनले ५९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ६४ रन बनाएर अन्तिम ब्याटर हम्जा ताहिर (७) सँग दसौं विकेटमा ४९ रन जोडे । स्कटल्यान्ड ४२.५ ओभर खेल्दै १ सय ४४ रनमा अलआउट भयो । आदिलले १० ओभरमा ३१ र सोमपालले १० ओभरमा ४० रनमात्र खर्चेका थिए ।

आसिफ शेखले ७१ रन बनाएपछि नेपालले २५.१ ओभरमै लक्ष्य पूरा गरेर 

ऐतिहासिक जित पाएको थियो । प्लेयर अफ द म्याच आसिफले ६२ बलमा १० चौका र १ छक्का प्रहार गरे । आसिफ र कुशल भुर्तेलले ८ ओभरभित्र ४७ रन जोडेर दिलाएको राम्रो सुरुआतमा आसिफ र कप्तान रोहित पौडेलले तेस्रो विकेटमा ४८ रन जोडेका थिए । स्कटल्यान्डलाई उसैको भूमिमा पहिलो पटक पराजित गरेको क्षण नेपाली क्रिकेटमा लामो समयसम्म रहनेछ ।

रोहितको गर्जन

कीर्तिपुर (फेब्रुअरी २१, २०२३)

नेपाल विश्वकप लिग २ को कठिन स्थितिमा थियो । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन अन्तिम १२ खेलमा ९ जित्नुपर्ने अवस्थाको लहरमा दोस्रो खेल खेलिरहेको थियो । तर स्कटल्यान्डलाई जित्नु नेपालका लागि फलामको चिउरा चपाउनुजस्तै थियो । अझ नेपाललाई पराजित गरेको खण्डमा स्कटल्यान्ड लिग २ को विजेता बन्ने समीकरण थियो । जर्ज मुन्सीले ५० बलमा ६० रन बनाए पनि स्कटल्यान्डलाई ४६.१ ओभरमा २ सय १२ रनमा अलआउट गरी नेपाली बलरले आफ्नो जिम्मेवारी पूरा गरेका थिए ।

तर ३२ औं ओभरमा नेपालले १ सय ३८ रन बनाउँदा ८ विकेट गुमाइसकेका थियो । रोहित पौडेलले यहींबाट आफ्नो परिपक्वता देखाए । उनले १ सय १ बलमा अविजित ९५ रन बनाएपछि नेपालले ४४.१ ओभरमा लक्ष्य पूरा गर्‍यो । साफयान सरिफको बलमा विजयी चौका प्रहार गरेपछि रोहितले आफ्नो मसल्स देखाउँदै गर्जिएर सेलेब्रेसन गरेका थिए । रोहितले यसलाई आफ्नो खेलजीवनको उत्कृष्ट इनिङ्स मान्दै आएका छन् । रोहितले करण केसीसँग नवौं विकेटमा ७५ रनको अविजित साझेदारी गरेका थिए । बलिङमा ३ विकेट लिएका करणले ब्याटिङमा पुनः अर्को उपयोगी इनिङ्स खेले । करणले ३७ बलमा २ चौका र १ छक्कासहित ३१ रन बनाए ।

पुनर्जीवन दिन सक्ने जित

ड्यालस (अक्टोबर २९, २०२५)

स्कटल्यान्डमाथि नेपाली बलर पुनः हाबी हुन पुगे । सन्दीप लामिछानेले ३ तथा तीव्र गतिका बलरहरू करण केसी, सोमपाल कामी र गुलशन झाले २–२ विकेट लिएपछि टस हारेर ब्याटिङमा आएको स्कटल्यान्ड ग्रान्ड प्रेरीमा ४१.४ ओभरमा १ सय ५४ रनमै अलआउट भयो । आठौं नम्बरमा ब्याटिङ गरेका मार्क वाटले ४० बलमा सर्वाधिक ३४ रन बनाएका थिए ।

विदेशी भूमिमा एउटा स्मरणीय विजय हात पार्नेक्रममा आरिफ शेखले अविजित ५१ रन बनाए । उनले प्लेयर अफ द म्याच बन्नेक्रममा ४२ बल खेल्दै ८ चौका प्रहार गरे । आरिफ र गुलशनले छैटौं विकेटमा ५७ रनको अविजित साझेदारी गरेपछि नेपालले ३० ओभरभित्र १ सय ५७ रन बनाएको थियो । २०२४–२७ को लिग २ सर्कलमा नेपालको यो केवल दोस्रो जित थियो, यसले नेपालको कठिन यात्रामा पुनर्जीवन दिन सक्छ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully