स्याङ्जा १५ स्वर्णसहित टिम च्याम्पियन

जेष्ठ १८, २०८२

कान्तिपुर संवाददाता

Syangja team champion with 15 golds

बागलुङ — बागलुङको बुर्तिबाङमा भएको पाँचौं गण्डकी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगितामा स्याङ्जा टिम च्याम्पियन भएको छ । स्याङ्जाको लगातार तेस्रो पटक च्याम्पियन भएको हो ।

गण्डकी प्रदेशका विभिन्न ६ जिल्लाका टिम र आयोजक टिमको सहभागिता रहेको प्रतियोगितामा स्याङजा १५ स्वर्ण, ३ रजत र ७ कांस्य पदक जित्दै च्याम्पियन बन्न सफल भयो । तनहुँले ७ स्वर्ण, ४ रजत र ९ कांस्य पदकसहित दोस्रो स्थान हासिल गर्‍यो । आयोजक बागलुङ ४ स्वर्ण, ५ रजत र ११ कांस्यसहित तेस्रो भयो ।

महिलातर्फ उत्कृष्ट खेलाडीमा स्याङजाकी अहोम गुरुङ र पुरुषतर्फ तनहुँका सालका श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।

ढोरपाटन नगरपालिकाका कार्यबाहक मेयर धनबहादुर कठायतले खेलक्षेत्रले व्यक्तिमा अनुशासन र क्षमताको वृद्धि गर्ने भन्दै खेलाडीहरू राष्ट्रका गहना भएको बताए । ढोरपाटन नगरपालिका २ का अध्यक्ष भेकबहादुर खत्रीले खेलक्षेत्रको विकासले मात्र देशको विकास सम्भव हुने धारणा व्यक्त गरे ।

आईटीएफ तेक्वान्दो संघ बागलुङका अध्यक्ष प्रतीक घर्ती मगरको अध्यक्षतामा भएको थियो ।  

कान्तिपुर

Link copied successfully