दाङ — जिल्लास्तरीय पन्ध्रौं राष्ट्रपति रनिङ शिल्डको उपाधि तुलसीपुर उपमहानगरपालिकाले हात पारेको छ । तुलसीपुर उपमहानगरपालिका–१७, बेलझुण्डी रंगशालामा जेठ १५ देखि सुरु प्रतियोगितामा जिल्लाका १० स्थानीय तहका खेलाडीले भाग लिएका थिए ।
तुलसीपुरले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गरेको हो । मेडल तालिकामा तुलसीपुर ३२ स्वर्ण, २२ रजत र २२ कास्य गरी ७६ पदक जित्न सफल भयो । २० स्वर्ण, १६ रजत र १६ कास्यसहित ५२ पदक प्राप्त गरी घोराही उपमहानगरपालिका दोस्रो भएको छ । ५ स्वर्ण, ६ रजत र १४ कास्य गरी २५ पदक हात पार्दै शान्तिनगर गाउँपालिका तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
शनिबार भएको समापन कार्यक्रममा विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई सम्मान गरिएको थियो । समापन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य–सचिव तिरनदाज गौतम र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियारको सहभागिता थियो ।
