फिदिम माविले जित्यो जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड

जेष्ठ १७, २०८२

लक्ष्मी गौतम

Fidim Mavi won the district level President's Running Shield

पाँचथर — पाँचथरमा आयोजित जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिताको उपाधि फिदिम माध्यमिक विद्यालयले जितेको छ । ६६ विधामा गराइएको प्रतिस्पर्धामा २४ स्वर्ण,१३ रजत र ५ कांस्यसहित फिदिमले राष्ट्रपति रनिङ शिल्ड जितेको हो ।

प्रतियोगितामा २३ स्वर्ण,१४ रजत र १३ कांस्यसहित याङवरक गाउँपालिका दोस्रो स्थान ओगट्न सफल भएको छ । प्रतियोगितामा विजेता र उपविजेता पालिकाका टिम र सहभागी खेलाडीलाई प्रमुख अतिथि हिलिहाङ गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी, फिदिम नगरपालिका-१ का वडाध्यक्ष गजाधर भट्टराई, हिलिहाङ ५ र ६ का वडाध्यक्ष क्रमशः बिर्खबहादुर सुहाङ र गणेश योङहाङ, कार्यपालिका सदस्य सुष्मा लावतीलगायतले पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरे ।

प्रतियोगितामा हिलिहाङ-६ स्थित जोरपोखरी माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगितामा जिल्लाका आठवटै स्थानीय तहबाट उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थी र टिमबीच प्रतिस्पर्धा गराइएको थियो ।

यसैगरी फाल्गुनन्द गाउँपालिकाले ८ स्वर्ण, ६ रजत र १४ कांस्यसहित तेस्रो हुँदा हिलिहाङले ४ स्वर्ण,९ रजत र १२ कांस्य पदकसहित चौथो बन्न सफल भएको छ ।

मिक्लाजुङ गाउँपालिकाले २ स्वर्ण, ६ रजत र ८ कांस्य पदक जित्दा कुम्मायकले २ स्वर्ण र ३ कास्य पदक हात पार्न सफल भएको छ ।

यसैगरी फालेलुङ गाउँपालिकाले २ स्वर्ण, ७ रजत र २ वटा कांस्य पदक जित्दा तुम्वेवा गाउँपालिकाले १, स्वर्ण,१ रजत र १ कांस्य पदक जितेको छ ।

फिदिम माविले यसअघि तीनपटकसम्म राष्ट्रपति रनिङ शिल्ड जितिसकेको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully