दाङविरुद्ध रुपन्देही ६२ रनले विजयी

जेष्ठ १६, २०८२

सन्जु पौडेल

Rupandehi won by 62 runs against Dang

तिलोत्तमा — लक्ष्मण कुमालको उत्कृष्ट बलिङमा रुपन्देहीले लीला सेन्चुरी मेमोरियल यू–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा दाङलाई ६२ रनले पराजित गरेको छ । 

झैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शुक्रबार भएको छनोट प्रतियोगिताको फाइनलमा घरेलु टोली रुपन्देहीले दिएको १३२ रनको लक्ष्य पछ्याएको दाङले २२.१ ओभरमा सबै विकेट गुमाएर ६९ रन मात्र बनाउन सक्यो । दाङका अभिजित भण्डारीले सर्वाधिक १८ र शुभम् खनालले १४ रन बनाए । अन्य खेलाडीको प्रदर्शन राम्रो हुन सकेन । 

बलिङमा रुपन्देहीका लक्ष्मण कुमालले सर्वाधिक ५ विकेट लिए । उनले ७ ओभरमा एक मेडन राख्दै १४ रन खर्चिए । यस्तै, प्रिन्स पालले ४ विकेट हात पारे । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको रुपन्देहीले २४.५ ओभरमा सबै विकेट गुमाउँदै १३१ रनको योगफल तयार पारेको थियो । 

रुपन्देहीका सिद्धार्थ ढकालले ५४ रनको अर्धशतकीइ इनिङ खेले । उनले ४५ बलमा चार चौका र चार छक्का प्रहार गरे । ओपनर रोजन कुमालले २६, समीर अलि मुसलमानले २२ र तुसार चौहानले १० रनको योगदान दिए । 

बलिङमा दाङका शुभम खनालले सर्वाधिक ५ र दक्ष ठाकुरले ३ विकेट लिए । चन्द्रबहादुर थापा र करण जीएमको नाममा एक/एक विकेट रहृयो । प्रतियोगितामा रुपन्देहीका लक्ष्मण कुमाल म्यान अफ द म्याच घोषित भए । दाङले बाँकेलाई ६ विकेटले पराजित गर्दै समूह ‘बी’को विजेताको रुपमा फाइनल पुगेको थियो । रुपन्देही समूह ‘ए’ को विजेता बन्दै फाइनल पुगेको हो ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully