काठमाडौँ — नेपाल गल्फ संघले ११ औं नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप अर्को साता आयोजना गर्ने भएको छ । प्रतिष्ठित यस प्रतियोगिता जेठ २० देखि २२ सम्म पार ७२ को गोकर्ण गल्फ क्लबमा हुँदै छ ।
तीनदिने ५४ होलको प्रतिस्पर्धामा नेपालसहित दक्षिण एसियाका भारत, बंगलादेश, भुटान, श्रीलंकाका खेलाडीले उपाधिका लागि दाबी प्रस्तुत गर्ने नेपाल गल्फ संघका महासचिव दीपक आचार्यले जानकारी गराए । प्रतियोगितामा ४५ पुरुष र १० महिला गल्फरको सहभागिता निश्चित भएको छ । आइतबारसम्म खेलाडी दर्ता गर्ने समय रहेकाले यो संख्या बढ्न सक्ने आचार्यले बताए ।
पुरुषतर्फ व्यक्तिगत र टिम स्पर्धा हुनेछ । पुरुष टिम स्पर्धामा प्रत्येक राष्ट्रका २–२ खेलाडी हुनेछन् र ३६ होलपछिको संयुक्त स्कोरका आधारमा विजेता घोषणा गरिनेछ । आयोजक नेपालले दुई टिम सहभागी गराउने छ । नेपाली ‘ए’ टिममा नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राष्ट्रिय टोलीका सदस्य राहुल विश्वकर्मा रहने छन् । नेपाल ‘बी’ टिमको टुंगो आइतबार लाग्ने बताइएको छ ।
व्यक्तिगततर्फ नेपालबाट ३० देखि ३५ खेलाडीको सहभागिता रहनेछ भने भारतबाट २ महिलासहित १० तथा श्रीलंकाबाट ४ खेलाडी आउनेछन् । बंगलादेश र भुटानबाट २–२ खेलाडीले भाग लिनेछन् । नेपाली खेलाडीमा कोशी र गण्डकी प्रदेशबाट ६–६ खेलाडी छनोट भएर आएका छन् । अन्य खेलाडी बागमती प्रदेशबाट रहने महासचिव आचार्यले जानकारी गराए ।
व्यक्तिगत पुरुष स्पर्धामा ३६ होलपछि कट लागू गरिनेछ । सहभागी खेलाडीमध्ये उत्कृष्ट ६० प्रतिशतले अन्तिम १८ होलका लागि स्थान सुरक्षित गर्नेछन् । महिला स्पर्धामा नेपाल र भारतका खेलाडीको सहभागिता रहनेछ ।
यो प्रतियोगिता वर्ल्ड एमेच्योर गल्फ र्याङ्किङ डब्लुएजीआर) द्वारा मान्यता प्राप्त हो । प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीहरूले र्याङ्किङ अंक समेत प्राप्त गर्नेछन् ।
युवा खेलाडीलाई प्रोत्साहन र उनीहरूको विश्व वरीयताको लागि यो प्रतियोगिता महत्वपूर्ण रहने एनजीएका अध्यक्ष टासी घलेले बताए । घलेले प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने प्रायोजक र समर्थकप्रति आभार व्यक्त गरे ।
घलेले एनजीए अब युवा विकासमा केन्द्रित हुने योजनामा रहेको जानकारी गराए । ‘हामीले प्रदेश र जिल्ला गल्फ संघलाई प्रतियोगिताका लागि यू–१६ खेलाडी पनि पठाउन आग्रह गरेका छौं, किनभने यसपछि हामी उनीहरूको राष्ट्रिय वरीयता तयार गर्ने योजना बनाइरहेका छौं,’ उनले भने ।
शीर्ष खेलाडीहरूले त्यसपछि प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर प्राप्त गर्ने घलेले बताए । ११ औं संस्करणमा प्रवेश गरेको नेपाल एमेच्योर ओपनले नेपाल र दक्षिण एसियामा युवा विकास प्रवर्द्धन र एमेच्योर गल्फको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको उनको दाबी छ ।
