जुनियर विद्यालय खेलकुद काठमाडौंमा जेठ २२ देखि

जेष्ठ १६, २०८२

कान्तिपुर संवाददाता

Junior School Sports in Kathmandu from May 22

काठमाडौँ —  राष्ट्रिय खेलकुद परिषद्ले यू–१४ विद्यालय खेलकुद जेठ २२ देखि २६ सम्म काठमाडौंमा आयोजना गर्ने भएको छ । बालबालिकाको खेल प्रतिभाको खोजी गर्ने उद्देश्यबाट हुने लागेको प्रतियोगितामा विभिन्न ६ खेल समावेश गरिएको राखेप प्रतियोगिता विभाग प्रमुख मीनकुमार शर्माले जानकारी दिएका छन् ।

एथलेटिक्स, टेबलटेनिस, बास्केटबल, रग्बी, ब्याडमिन्टनका छात्र/छात्रा र क्रिकेटमा छात्रको मात्र खेल हुनेछ ।

विद्यालय खेलकुद महासंघ, प्याब्सन, एन प्याब्सन, नेपाल शिक्षक महासंघ तथा खेल संघका प्रतिनिधि सहभागी बैठकले अन्तिम तयारी गरेको संयोजक रन्जना प्रधानले बताइन् । प्रतियोगिताको उद्घाटन जेठ २२ मा हुनेछ । एथलेटिक्स र रग्बी २२ र २३ गते रंगशालामा हुनेछ ।

सोही मितिमा ब्याडमिन्टन देवीनगर हल बानेश्वर, टेबलटेनिस लैनचौर र बास्केटबल राखेप कभर्डहल त्रिपुरेश्वरमा सञ्चालन गरिनेछ । छात्र क्रिकेट भने २२ देखि २६ सम्म मूलपानी क्रिकेट मैदानमा हुने शर्माले बताए ।

एथलेटिक्सको ट्र्याकतर्फ १००, २००, ४०० र ८०० तथा ४ गुणा १०० मिटर रिले दौड र लङजम्पमा प्रतिस्पर्धा हुने छन् । टेबलटेनिस र ब्याडमिन्टनमा छात्र/छात्रा सिंगल तथा डबल्सका प्रतिस्पर्धा हुनेछ । बास्केटबल छात्र/छात्र थ्री वाई थ्री तथा रग्बीको छात्र/छात्राको स्पर्धा हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully