पोखरा — पोखरामा जारी नवौँ पीएम कप एनभीए भलिबल लिगमा महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ। पोखरा रंगशाला कभर्ड हलमा बिहीबार टिप टप न्यु डायमन्डलाई फाइनलमा ३–१ को सेटमा हराउँदै पुलिसले लगातार दोस्रोपटक उपाधि जितेको हो।
पुलिसले पहिलो सेट २५–२० मा टुङ्ग्याउँदा न्यु डायमन्डले दोस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पारेर बराबरी बनाएको थियो। पुलिसले तेस्रो सेट प्रतिस्पर्धात्मक २८–२६ ले न्यु डायमन्डलाई हरायो। चौथो सेटमा न्यु डायमन्डलाई २५–१४ ले सहजै पाखा लगाउँदै पुलिसले उपाधि रक्षा गर्यो। लिग अवधिभर पुलिस अपराजित रहँदा न्यु डायमन्डले उपविजेतामै चित्त बुझाउनुपर्यो। यी दुवै टिमले नेपालमा हुने काभा महिला क्लब च्याम्पियनसिपमा सहभागिता जनाउनेछन्।
यसअघि बिहीबार नै तेस्रो स्थानका लागि भएको खेलमा एभरेस्ट भलिबल क्लब विजयी भएको छ। एभरेस्टले नेपाल एपीएफ क्लबलाई ३–१ को सेटमा हराएर प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो। थाइल्यान्डका खेलाडी समावेश रहेको एभरेस्टले २५–१८, १०–२५, २५–१३ र २९–२७ ले नतिजा आफ्नो पक्षमा पारेको थियो।
नेपाल भलिबल सङ्घको आयोजनामा सञ्चालित प्रतियोगितामा महिलातर्फ ६ टिम सहभागी थिए। प्रतियोगिताको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो स्थान प्राप्त गर्ने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
पुरुषतर्फ पुलिस तेस्रो
प्रतियोगितामा पुरुषतर्फ आर्मीलाई हराउँदै पुलिस तेस्रो स्थानमा पुगेको छ। पुलिसले ३–१ को सेटमै आर्मीलाई पराजित गरेको हो। पहिलो सेट २७–२५ ले आफ्नो पक्षमा पार्न सफल भएको पुलिसले दोस्रो सेट पनि २५–२० मा टुङ्ग्याएको थियो। तेस्रो सेट भने २३–२५ ले गुमाएको थियो। चौथो सेटमा आर्मीको चुनौतीलाई सहजै पाखा लगाउँदै २५–१४ मै समेट्दा पुलिसले तेस्रो हुने अवसर पायो। हाल गण्डकी र हेल्प नेपालबीच पुरुषतर्फको फाइनल खेल जारी छ।
