पीएम कप एनभीए लिग : हेल्प नेपालको ह्याट्रिक

जेष्ठ १५, २०८२

दीपक परियार

PM Cup NVA League: Help Nepal's hat-trick

पोखरा — नवौं पीएम कप एनभीए भलिबल लिगमा पुरूषतर्फ टिप टप हेल्प नेपालले उपाधि रक्षा गर्दै 'ह्याट्रिक' गरेको छ । पोखरा रंगशाला कभर्ड हलमा बिहीबार गण्डकी प्रदेशलाई ३-२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै हेल्प नेपाल पाँचौंपल्ट च्याम्पियन बनेको हो । गत वर्ष पनि हेल्प नेपालसँग पराजित भएको गण्डकीले उपविजेतामा चित्त बुझाएको छ । 

गण्डकीले पहिलो र दोस्रो सेट जिते पनि लगातार तीन सेट हेल्प नेपाललाई सुम्पियो । हेल्प नेपालले पहिलो सेट २०-२५ र दोस्रो सेट २५-२७ ले गुमाएको थियो । तेस्रो सेटमा खेलमा फर्किंदै २५-२२ ले आफ्नो पक्षमा पार्‍यो । चौंथो सेटमा हेल्प नेपालले अन्तर अझै फराकिलो पार्दै २५-१४ मा गण्डकीलाई समेट्यो ।

 गृह मैदानमा दर्शकको साथ पाएको गण्डकीलाई अन्तिम सेटमा १५-८ ले पराजित गर्दै हेल्प नेपालले पाँचौं जित दर्ता गर्‍यो । दुवै टिमले ३-३ जना पाकिस्तानी खेलाडी लिएर खेले पनि गण्डकीले उपाधि चुम्ने अवसर गुमाउन पुग्यो । प्रतियोगितामा पुलिस तेस्रो भएको छ । महिलातर्फ भने पुलिस पहिलो, न्यु डायमन्ड दोस्रो र एभरेस्ट भलिबल क्लब तेस्रो भएका छन् । 

नेपाल भलिबल संघको आयोजना भएको प्रतियोगितामा पुरूषतर्फ ८ र महिलातर्फ ६ टिम सहभागी थिए । प्रतियोगिताको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो स्थान प्राप्त गरेको टोलीले २ लाख रुपैयाँ प्राप्त गरका छन् ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully