जितेशको अर्धशतकले ऋषभ पन्तको शतक छायामा
लखनउ — रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) इन्डियन प्रिमियर लिगको क्वालिफायर १ मा पुगेको छ । कप्तान जितेश शर्मा र मयंक अग्रवालले पाँचौं विकेटका लागि ४५ बलमा १ सय ७ रनको साझेदारी गरेपछि आरसीबीले मंगलबार लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गर्यो ।
ऋषभ पन्तले अविजित १ सय १८ रन बनाएपछि टस हारेर ब्याटिङ निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय २७ रन बनाएको थियो । आरसीबीले ८ बलअगाडि नै २ सय ३० रन बनायो ।
आरसीबीले यस खेल जित्दै क्वालिफायर १ मा पन्जाब किंग्ससँगको भेट पक्का गरेको हो । पन्जाब र आरसीबीको समान १९ अंकका साथ शीर्ष दुई स्थानमा रहे ।
आरसीबीले बिहीबार पन्जाबसँग फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछ । १८ अंक बनाएको गुजरातले इलिमिनेटरमा मुम्बईसँग खेल्नेछ ।
जितेश ३३ बल खेल्दै ८ चौका र ६ छक्का प्रहार गर्दै ८५ र मायांक २३ बल खेल्दै ५ चौका प्रहार गरी ४१ रन बनाई अविजित रहे । फिल सल्टले १९ बलमा ३०, विराट कोहलीले ३० बलमा १० चौका प्रहारसहित ५४ र रजत पटिदारले ७ बलमा १४ रन बनाए ।
यसअघि पन्तले ६१ बल खेल्दै ११ चौका र ८ छक्का प्रहार गरे । अक्सनबाट सबैभन्दा महँगो खेलाडी बनेका पन्तले यस सिजनको पूरा आईपीएलमा राम्रो प्रदर्शन गर्न नसक्दा लखनउ प्लेअफ दौडबाट बाहिरिनुको एउटा कारण थियो । पछिल्लो खेलमा गुजरातलाई पराजित गरेको लखनउले १२ अंक जोड्दै सातौं स्थानमा रहेर प्रतियोगिता टुंग्याएको छ ।
पन्त र मिचेल मार्सले दोस्रो विकेटमा ७८ बलमा १ सय ५२ रनको साझेदारी गरी लखनउलाई ठूलो स्कोरमा उभ्याएका थिए । मार्सले ३७ बल खेलमा ४ चौका र ५ छक्का प्रहार गरे ।
