आरोहीबीच मैत्रीपूर्ण फुटबल, सगरमाथा फ्रेन्डसिप विजयी

जेष्ठ १४, २०८२

कान्तिपुर संवाददाता

Friendly football among climbers, Everest Friendship wins

काठमाडौँ — नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसर र अन्तर्राष्ट्रिय सगरमाथा दिवसको सम्मानमा मैत्रीपूर्ण फुटबल खेल भएको छ ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको अवसरमा नेपाल र चीनका सगरमाथा आरोहीबीच मैत्रीपूर्ण फुटबल भएको हो ।

अल्पाइन स्पोर्ट्स फेडेरेसन नेपालले एन्फाको प्राविधिक सहयोगमा बुधबार एन्फा कम्प्लेक्समा उक्त खेल आयोजना गरेको थियो । मैत्रीपूर्ण खेलमा सगरमाथा फ्रेन्डसिप टिम (नेपाल) र माउन्ट चोमोलोङ्मा फुटबल टिम (चीन) बीच प्रतिस्पर्धा भयो । सगरमाथा फ्रेन्डसिप ४–१ ले विजयी भयो ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ, अल्पाईन स्पोर्ट्स फेडेरेसनका उपाध्यक्ष रोमनाथ ज्ञवालीलगायत उपस्थित थिए । राजदूत चेन सोङले रेफ्रीलाई बल हस्तान्तरण गर्दै खेल उद्घाटन गरेका थिए ।

यो सांकेतिक कार्यक्रमले खेलकुदको विश्वव्यापी भाषामार्फत मित्रता, आपसी सम्मान र सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । पर्वतारोहीलाई शिखरतिरको यात्राभन्दा बाहिर पनि आत्मीयता जोड्न मदत गर्ने विश्वास छ ।  

कान्तिपुर

Link copied successfully