काठमाडौँ — नेपाल कुराँस संघले चौथो राष्ट्रिय कुराँस प्रतियोगिता यही साता काठमाडौंमा आयोजना गर्ने भएको छ । नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा हुने प्रतियोगितामा तीन विभागीय टिम आर्मी, पुलिस र एपीएफ तथा सातै प्रदेशका खेलाडीले भाग लिने संघका कावा अध्यक्ष जीवन राईले जानकारी गराए ।
प्रतियोगिता दोस्रो पटक काठमाडौंमा हुन लागेको हो । यसअघि पहिलो संस्करण पनि काठमाडौंमै भएको थियो ।
सिनियर र जुनियरमा महिला र पुरुषतर्फ ४ विधामा प्रतिस्पर्धा हुनेछ । २२ तौल समूहमा हुने प्रतियोगितामा २ सय २० खेलाडीले भाग लिने अध्यक्ष राईले बताए । हरेक तौल समूहका शीर्ष तीन स्थानका विजेता खेलाडीले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरसकार प्राप्त गर्नेछन् ।
प्रतियोगिताअघि बिहीबार प्रशिक्षक र रेफ्री सेमिनार पनि हुनेछ ।
कुराँस २०७३ सालमा राष्ट्रिय खेलकुदमा दर्ता भएको संघ हो । उज्वेकिस्तानको परम्परागत खेलको रूपमा रहेको कुराँस एक प्रकारको मार्सल आर्ट नै हो ।
नेपालले एसियाली खेलकुद, एसियन च्याम्पियनसिपलगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेको प्रमुख प्रशिक्षक प्रवीण कार्कीले जानकारी गराए ।
