काठमाडौँ — नेपाली जुडो खेलाडीले बंगलादेश क्रिरा सिखा प्रतिष्ठान (बीकेएसपी) कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा ५ स्वर्णसहित १० पदक जितेका छन् ।
नेपाली टिम १ रजत र ४ कांस्य जित्दै समग्रमा उपविजेता बन्यो । त्यसमा बन्दी सहायता नियोग (पाम) जुडो डोजोका खेलाडीले ४ स्वर्ण र १ कांस्य जितेका थिए । पामबाट ५ खेलाडी सहभागी भएकामा सबैले पदक जिते ।
पुरुष ६० केजीमुनि सविनकुमार दियाली, ६६ केजीमुनि विशेष बिक, महिला ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली र ५७ केजीमुनि पेमा याङ्जी शेर्पाले स्वर्ण जिते ।
पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङले रजत जिते । पुरुष ५५ केजीमुनि बुद्ध गुरुङ र ७३ केजीमाथि विज्ञान खत्री तथा महिला ४४ केजीमुनि समिता नेपाली र ६३ केजीमुनि रेखा श्रेष्ठले कांस्य जिते ।
प्रतियोगितामा नेपालका १२ खेलाडी प्रतिस्पर्धी थिए ।
प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ थिए । राधाले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाए । बंगलादेशको बीकेएसपी टोली ६ स्वर्ण, ८ रजत र १० कांस्यसहित टिम च्याम्पियन बन्यो ।
