काठमाडौँ — महामन्जुश्री सेकेन्डरी स्कुलको आयोजनामा प्रथम महामन्जुश्री कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बिहीबार सुरु हुनेछ ।
प्रतियोगितामा ३ विधामा विभिन्न ४१ विद्यालयका ६३ टिमको सहभागिता रहने मंगलबार पत्रकार सम्मेलनमा महामन्जुश्रीका प्रिन्सिपल चूडामणि मरासिनीले जानकारी गराए । सिनियर ब्वाइजमा ३२, जुनियर ब्वाइजमा १५ र सिनियर गर्ल्समा १६ टिमले भाग लिनेछन् ।
प्रतियोगिता गर्न करिब १ लाख ८० हजार रुपैयाँ खर्च हुने महामन्जुश्रीका प्रशासन प्रमुख केशव मरासिनीले जानकारी दिए ।
लिगकम नकआउट आधारमा दुई दिन चल्ने प्रतियोगिताका खेल नागर्जुन नगरपालिका–५ आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।
प्रिन्सिपल मरासिनीले विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्न र प्रतिभावन खेलाडीको पहिचान गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।
