पर्सा — मधेश क्रिकेट लिग सिजन–१ अन्तर्गत मंगलबार वीरगन्जमा भएको पहिलो सेमिफाइनल खेलमा सप्तरीले धनुषालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । सप्तरीले धनुषालाई ३ विकेटले पराजित गर्यो ।
निर्धारित २० ओभरको खेलमा धनुषाले टस जिती ब्याटिङ गर्दै पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ९८ रनको सामान्य योगफल तयार पार्यो । धनुषाका अखिलेश ठाकुरले विस्फोटक ब्याटिङ गर्दै केवल ९ बलमा २३ रन बनाए । हिमांशु दत्तले २१ रनको योगदान गरे ।
सप्तरीका बलरहरुले किफायती बलिङ गरे । नितेश यादवले ११ रन दिई ३ विकेट र पप्पु यादवले १७ रन दिई २ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ गरेको सप्तरीले १९ ओभर २ बलमा ७ विकेटको क्षतिमा १ सय २ रन बनाउँदै फाइनल स्थान सुरक्षित बनायो । सप्तरीका राहुल विकले नट आउट रही ३१ बलमा ४८ रन बनाएर जितको आधार खडा गरे । उनी ‘म्यान अफ द म्याच’ समेत रहे । सप्तरीकै अमित यादवले ११ रन जोडेका थिए ।
धनुषाका बलरहरुमा अविजित यादव र रामरुप यादवले २/२ विकेट बाँडेका थिए ।
मंगलबार नै कलैयामा भएको दोस्रो सेमिफाइनलमा बाराले रौतहटलाई पराजित गरेको छ । बिहीबार वीरगन्जमा सप्तरी र बाराबीच फाइनल खेल हुनेछ ।
