लन्डन — बेलायतको अल्डरसटस्थित क्विन्स एभिन्यू स्पोर्ट्स फिल्डमा आयोजित २३ औं गोर्खा कप फुटबलमा ड्रिम टिम च्याम्पियन बनेको छ । आइतबार मध्यरात सम्पन्न प्रतियोगिताको फाइनलमा ड्रिम टिमले गुरुजी इलियट टिमलाई टाइब्रेकरमा ४–२ गोलले हरायो । निर्धारित समयमा १–१ को बराबरी भएको थियो ड्रिम टिमले उपाधिसहित ३ हजार पाउन्ड पुरस्कार जित्यो । उपविजेताले १ हजार ८ सय पाउन्ड पायो ।
बेस्ट प्लेयर विजेताका ईश्वर गुरुङ चुनिए । सर्वाधिक गोलकर्ता गुरुजीका रोबेल नाल्बो भए । बेस्ट म्यानेजरमा ड्रिम टिमका सक्थिम चेम्जोङ चुनिए । भेट्रानतर्फ हिमालयन एफसी विजेता हुँदै १ हजार ५ सय पाउन्ड सफल भयो । रनर अप इन्टेक २००० बन्यो । टोलीले १ हजार पाउन्ड पुरस्कार पायो । हिमालयन ४–० ले विजयी भएको हो । हिमालयनका कुमार थापा बेस्ट म्यानेजर बने । सन्दीप गुरुङ सर्वाधिक गोलकर्ता चुनिए । हिमालयनका खुम गुरुङ बेस्ट प्लेयर भए ।
महिलातर्फ रन्डर बोल्ट्स एफसीले तामाङ समाज युकेलाई ३–० को हराएर ६ सय पाउन्डसहित ट्रफी जित्यो । उपविजेता तामाङ समाजले ४ सय पाउन्ड पायो । गरिमा राई बेस्ट प्लेयर चुनिइन् । ‘फुटबल लेजेन्ड अफ गोर्खा कप’ को उपाधि लोकप्रसाद चेम्जोङ धनकुटेलाई दिइएको छ । विजेतालाई आयोजक तमू धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, रसमोर बोरो काउन्सिलका मेयर क्यालोन स्टिवर्ट, सांसद एलेक्स बेकर, फुटबलर सावित्रा भण्डारीलगायतले पुरस्कार वितरण गरे ।
