पोखरा — पछिल्लो संस्करणको विजेता हेल्प नेपालले नवौं पीएम कप एनभीए पुरुष भलिबल लिगमा उत्कृष्ट लय कायम राख्दै लगातार पाँचौं जित निकालेको छ । सोमबार पोखरा रंगशालाको कभर्ड हलमा सम्पन्न खेलमा मणिमुकुन्द भलिबल क्लबलाई सोझो तीन सेटमा पराजित गर्दै हेल्प नेपाल उपाधि नजिक पुगेको हो ।
मणिमुकुन्दमाथि २५–२२, २९–२७ र २५–२० को सेटमा जित निकालेको हेल्प नेपालले पाँच खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा आफ्नो पकड कायम राखेको छ ।
सोमबारकै अर्को खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पनि ३–० को सोझो सेटमा हराउँदै १५ अंक बनायो । गण्डकीले २५–१३, २५–२० र २५–२० को सहज जित निकाल्यो । सेटको आधारमा हेल्प नेपालभन्दा पछि पर्दै गण्डकी दोस्रो स्थानमा छ । लगातार पाँचौं हार बेहोरेको सुदूरपश्चिम लिग चरणबाट लगभग बाहिरिएको छ ।
सोमबार नेपाल पुलिस क्लबले एपीएफलाई २५–२२, २५–२० र २५–१६ सोझो सेटमा हराएको छ । योसँगै एपीएफले पाँच खेलमा चार हार व्यहोरेको छ ।
त्रिभुवन आर्मीको पुनरागमन
त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशमाथि ३–१ को जित हात पार्दै प्रतियोगितामा तेस्रो जित दर्ता गर्यो । पहिलो सेट २१–२५ ले गुमाएपछि आर्मीले बाँकी तीन सेट २५–१९, २५–२१ र २५–२० ले आफ्नो पक्षमा पार्यो । यो जितसँगै आर्मीले पाँच खेलबाट ८ अंक बनाएको छ । कोशीको यो चौथो हार हो । कोशीले जम्मा ३ अंक मात्रै जोड्न सकेको छ ।
सोमबार महिलातर्फ नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लबले विजय हात पारे । पुलिसले त्रिभुवन आर्मीमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । पुलिसले २४–२६, २५–११, २५–१९, २१–२५ र १५–९ को नतिजासहित २ अंक जोड्दै कुल ११ अंकका साथ शीर्ष स्थानमा यथावत् रहेको छ ।
पाँच सेटसम्म पुगेको खेलमा त्रिभुवन आर्मीले १ अंक जोड्न सफल भए पनि ४ खेलमा जम्मा १ अंक बनाउँदै लिग चरणबाट बाहिरिएको छ । आर्मीले अहिलेसम्म कुनै पनि खेल जित्न सकेको थिएन ।
थाइल्यान्डका खेलाडी सम्मिलित एभरेस्ट भलिबल क्लबले कर्णाली प्रदेशलाई २५–१४, २५–७ र २५–२० को सोझो सेटमा हरायो । कर्णाली र आर्मी दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।
महिला लिगमा नेपाल पुलिस, न्यु डायमन्ड, एपीएफ क्लब र एभरेस्ट शीर्ष ४ मा छन् । एपीएफ र एभरेस्ट दुवैको समान ६ अंक छ । बाँकी खेलमा शीर्ष दुई टिम फाइनल पुग्ने छन् भने तेस्रो र चौथो स्थानमा रहने टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
