पोखरा — गण्डकी प्रदेशस्तरीय यू–१६ पुरुष क्रिकेट प्रतियोगितामा पूर्वी नवलपरासी विजेता बनेको छ । सोमबार पोखरामा सम्पन्न फाइनल खेलमा कास्कीलाई ६ विकेटले पराजित गर्दै नवलपुरले उपाधि चुमेको हो ।
फाइनल खेलमा नवलपुरले टस जितेर कास्कीलाई पहिले ब्याटिङ गर्न निम्तो दिएको थियो । निर्धारित ३५ ओभरको खेलमा कास्की यू–१६ टिम २८ ओभरमा समेटिँदै १ सय ५ रन मात्र बनाउन सक्यो ।
कास्कीका तर्फबाट ओपनर अनिकेत गजुरेलले उत्कृष्ट प्रदर्शन गर्दै ७२ बलमा ५ चौकासहित ४९ रन बनाए । मोहम्मद सिद्दीकीले १९ रन र अनिष रावतले १४ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नवलपुरका बलर सुशील भुसालले शानदार प्रदर्शन गर्दै ७ ओभरमा २५ रन खर्चिएर ५ विकेट लिए । यस अतिरिक्त समिर रोका र सुजन अर्यालले समान २–२ विकेट लिएर कास्कीको पारी समेट्न महत्त्वपूर्ण भूमिका खेले ।
१ सय ६ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नवलपुरले २६ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नवलपुरका लागि समिर न्यौपानेले २८ रन र अनिश भट्टाराईले २० रनको योगदान दिए । कास्कीका बलर सत्कार चालिसे, रिदम पाण्डे, सोनु यादव र सौरभ सिद्दीकीले समान १–१ विकेट लिए ।
प्रतियोगितामा व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने तनहुँका सुप्रिम सुनार ‘प्लेयर अफ द सिरिज’ घोषित भए । नवलपुरका समिर न्यौपाने ‘बेस्ट ब्याट्सम्यान’बने भने शैलेश काफ्ले ‘बेस्ट बलर’ घोषित भए ।
