यू-१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेटमा नवलपरासी र दाङ विजयी

जेष्ठ १२, २०८२

सन्जु पौडेल

Nawalparasi and Dang won in U-16 Lumbini state level cricket

तिलोत्तमा — रुपन्देहीमा जारी लीला सेञ्चुरी मेमोरियल यू–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा नवलपरासीले पाल्पाविरुद्ध सहज जित हात पारेको छ । तिलोत्तमास्थित एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा सोमबार भएको खेलमा नवलपरासीले पाल्पालाई ६९ रनले हराएको हो ।

जितका लागि नवलपरासीले दिएको १३३ रनको लक्ष्य पछ्याएको पाल्पा २१.२ ओभमा सबै विकेट गुमाउँदै ६३ रनमा समेटियो । पाल्पाका लागि अमृत अर्यालले बनाएको १३ रन नै व्यक्तिगत ठूलो स्कोर रहृयो । उज्वल पाठक र रुबिन पराजुली १०/१० रन बनाएर आउट भए । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । तीन जना ब्याटरले खाता नै खोल्न सकेन् । नवलपरासीका लागि आर्यन अलि, तिलक सापकोटा र प्रेमसागर यादवले समान ३/३ विकेट लिए । अजय चाईको नाममा एक विकेट रहृयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नवलपरासीले २८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १३२ रन बनाएको थियो । पाल्पाका अमृत अर्यालले ४ विकेट लिए । अर्यालले ६.५ ओभर बलिङ गर्दै २८ रन खर्चिए । नवलपरासीका तिलक सापकोटाले सर्वाधिक २२ रनको योगदान गरे । यस्तै, आरो जङ गिरीले २८, मनिष तिवारीले १४ र अनय चाईले ११ रन बनाए । अन्य ब्याटरलै दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा पाल्पाका अमृत अर्यालले चार विकेट हात पारे । अर्यालले ६.५ ओभर बलिङ गर्दै २८ रन खर्चिए । दिवस खर्यालले ३, उप्सन विक्रम जीसीले २ र कोसिस न्यौपानेले एक विकेट हात पारे ।

सोमबारको खेलमा नवलपरासीका तिलक सापकोटा म्यान अफ दी म्याच घोषित भए । उनले पाल्पाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सोमबार नै भएको अर्को खेलमा दाङले बर्दियालाई ३० रनले हराएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा दाङले दिएको १७१ रनको लक्ष्य पछ्याएको बर्दिया ३०.४ ओभरमा सबै विकेट गुमाउँदै १४० रनमा समेटियो । बर्दियाका हेमन्त आचार्यले सर्वाधिक ३० रन बनाए । अन्यको प्रदर्शन राम्रो हुन सकेन । बलिङमा दाङका दक्ष ठाकुरले ३, सन्दीप थापा र शुभम खनालले समान २–२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दाङले ३३.२ ओभरमा अलआउट हुँदै १७० रन बनाएको थियो । उसका लागि योगेश्वर कवनारले सर्वाधिक ४२ रन बनाए । सन्दीप थापाले २४, शुभम खनालले १९ र चन्द्र थापाले १७ रनको योगदान गरे । बर्दियाका आकाश थापाले ३, सक्षम बुढाथोकी र हेमन्त आचार्यले समान २/२ विकेट लिए । दाङका दक्ष ठाकुर म्यान अफ दी म्याच घोषित भए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully