मधेश क्रिकेट लिग : धनुषा र बारा विजयी

जेष्ठ १२, २०८२

शंकर आचार्य

Madhesh Cricket League: Dhanusha and Bara won

पर्सा — मधेश क्रिकेट लिग सिजन–१ अन्तर्गत सोमबार वीरगन्जमा भएका दुई खेलमा धनुषा र बारा विजयी भएका छन् ।

पहिलो खेलमा धनुषाले सर्लाहीलाई ५ विकेटले पराजित गर्‍यो । निर्धारित २० ओभरको खेलमा सर्लाहीले टस जितेर पहिले ब्याटिङ गर्दै पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा ८९ रनको झिनो योगफल बनायो । 

उसका लागि आरिफ राजाले सर्वाधिक ३४ र विवेक चौधरीले १६ रनको उल्लेखनीय योगदान गरे । कृश साहले ३ र विशाल सुस्लिङले २ विकेट लिए । 

जवाफमा धनुषाले १४ ओभर ५ बलमा ५ विकेटको क्षतिमा ९३ रन बनाई खेल आफ्नो पक्षमा पार्‍यो । उसका लागि अलि अकबर अन्सारीले सर्वाधिक २७ र मयन यादवले २५ रन लिएका थिए । सर्लाहीको बलमा चक्रधर यादवले २ र विशाल पटेल १ विकेट लिएका थिए । धनुषाका कृश साह ‘म्यान अफ द म्याच’ रहे । 

दोस्रो खेलमा बाराले महोत्तरीलाई १ सय ३ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको बाराले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ७७ रनको विशाल स्कोर खडा गर्‍यो । उसका लागि पवन सर्राफले सर्वाधिक ४७ रन बनाए भने आदिल अन्सारीले ३७ रन बनाए । 

महोत्तरीको बलमा अभिषेक तिवारीले ३ र रमेश सहनीले २ विकेट हात पारे । जवाफमा महोत्तरी १५ ओभर ५ बलमा ७४ रन मात्र जुटाई अलआउट हुन पुग्यो । महोत्तरीका लागि युसुफ आलमले १४ र रवि सिंहले १२ रनको योगदान गरे । बाराका बरुण जैसवाल र अरनिको यादवले ३/३ विकेट लिए । अरनिकोनै ‘म्यान अफ द म्याच’ पनि भए । 

शंकर

Link copied successfully