काठमाडौँ — त्रिभुवन आर्मी क्लबले प्रथम सहिद स्मृति महिला राष्ट्रिय रग्बी सेभेन्सको उपाधि जितेको छ। दशरथ रंगशालामा सोमबार सम्पन्न फाइनलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई २०–५ स्कोरले पराजित गर्यो ।
आर्मीले १ लाख र एपीएफले ५० हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा आर्मीकी मुना सोरेन उत्कृष्ट खेलाडी चुनिइन् । उनले ७ हजार नगद पुरस्कार पाइन् ।
सहिद स्मृति स्पोर्ट्स एकेडेमीको आयोजना र नेपाल रग्बी संघको प्राविधिक सहयोग तथा व्यवस्थापनमा भएको प्रतियोगिता विजेतालाई पूर्व अर्थमन्त्री वर्षामान पुन, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरे ।
एकेडेमीले प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुदअन्तर्गत रग्बीपछि ब्याडमिन्टन, फुटसल र तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता गर्ने जनाएको छ ।
