जेठ १५ गतेदेखि बनेपामा प्रथम मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता 

जेष्ठ १२, २०८२

ज्योती श्रेष्ठ

1st Mayer Cup National Open Table Tennis Tournament in Banepa from 15th May

काभ्रे — काभ्रेको बनेपामा यहीँ जेठ १५ गतेदेखि बनेपामा प्रथम मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता हुने भएको छ । बनेपा नगर टेबल टेनिस संघको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म प्रथम मेयर कप राष्ट्रिय खुल्ला टेबल टेनिस प्रतियोगिता आयोजना गर्न लागिएको हो । 

प्रतियोगितामा १८ वर्षमुनि समूहतर्फ महिला/पुरुष, खुल्ला एकलतर्फ महिला/पुरुष, मास्टर्स सिंगल ४० वर्षमाथि र मास्टर्स सिंगल ५५ वर्षमाथि गरी ४ समूह विभाजन गरिएको छ । विभिन्न समूहमा विजेताहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ । जसअनुसार १८ वर्षमुनि समूहमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ दिइनेछ भने खुल्ला एकलतर्फ प्रथम हुनेले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । 

मास्टर्स ४० माथिका विजेता प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५हजार रुपैयाँ नगद पुरस्कार र ५५ वर्षमाथिका समूहमा पनि विजेता प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै बनेपा नगर टेबल टेनिस संघका अध्यक्ष परमेश्वर श्रेष्ठले बनेपा तथा काभ्रेपलाञ्चोक जिल्लाबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु, मोफसलमा रहेर पनि राष्ट्रिय प्रतिस्पर्धामा उत्रिन सक्ने खेलाडी तयार गर्नु, र सीप तथा कौशलको आदान–प्रदान गर्नु प्रतियोगिताको प्रमुख उद्देश्य रहेको बताए । 

बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले केही समय यता नगरपालिकाले नियमित रूपमा टेबल टेनिस प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको र यस्तो प्रतियोगिताले खेलाडीको क्षमता उजागर गर्न सहयोग मिल्ने बताए ।  प्रतियोगितामा देशभरिका खेलाडीहरूलाई सहभागी हुन खुल्ला आमन्त्रण गरिएको आयोजकले जनाएको छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully