आईओएफटीसीको १५औँ संस्करण नेपालमा

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

15th edition of IOFTC in Nepal

काठमाडौँ — इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १५ औं संस्करण नेपालमा हुने भएको छ। आईओएफटीसी नेपालको आयोजनामा आगामी पुस ३ देखि ५ गतेसम्म इन्टनेसनल फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने सोमबार पत्रकार सम्मेलनमा जानकारी गराइयो।

आईओएफटीसीको प्रमुख कार्यालय अमेरिकाको पोर्टल्यान्डमा छ । इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप भने नेपालबाटै सन् २००० मा सुरु भएको हो। अहिले प्रतियोगिता सुरु भएको २५ वर्ष पुगेको अवसरमा फेरि नेपालमै हुने लागेको हो। यसअघि नेपालमा प्रतियोगिताका चार संस्करण आयोजना भइसकेको छ।

आईओएफटीसी हेड क्वाटरले प्रत्येक दुई वर्षमा इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्दै आएको संस्थाका निर्देशक दिवाकर डान महर्जनले जानकारी गराए। उनका अनुसार पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर प्रतियोगिता हुँदै आएको छ। अमेरिकाको पोर्टल्यान्डमा ५ र मिचिगनमा १ संस्करण, नेपालमा ४ संस्करण, भारत, बेलायत, हङकङ र दक्षिण कोरियामा एक–एक संस्करण आयोजना भइसकेको महर्जनले बताए।  

प्रतियोगिताको रजत वर्षको अवसरमा हुन लागेको १५ औं संस्करण विशेष बनाउने लक्ष्य रहेको निर्देशक महर्जनले सुनाए । प्रतियोगिताका क्रममा ओलम्पिक स्वर्ण पदक विजेता तथा विश्व ओलम्पिक तेक्वान्दो फेडेरेसनका अध्यक्ष मुन डाइ सुङ र कुकिवनका प्रशिक्षक मिन हाक सिओ नेपाल आउनेछन् । त्यतिबेला हुने पुम्से सेमिनार उनै प्रशिक्षक सिओले सञ्चालन गर्नेछन् ।

प्रतियोगितामा नेपालसहित दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अस्ट्रिया, क्यानडा, पाकिस्तान, भारत, हङकङ, चीन, मेक्सिको, माल्दिभ्सलगायतका राष्ट्रका गरी ७ सयभन्दा बढी खेलाडीको सहभागिता रहने आईओएफटीसी नेपालका महासचिव गिरीबहादुर सुनारले जानकारी गराए ।

सिनियर पुरुष र महिलाको समान ८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जुनियरतर्फ ब्वाइज र गर्ल्समा १०–१०  र क्याडेटमा १०–१० तौल समूहमा प्रतिस्पर्धा गराइने छ । सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि समावेश गरिएको जनाइएको छ । प्रतियोगितामा कुल ६५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

ग्रान्ड मास्टर रहेका महर्जनले नेपालका कुनै पनि खुला खालको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताहरू नभएको स्थितिमा सबैले खेल्न पाउन् भन्ने उद्देश्य राखेर यो इभेन्ट सुरु गरिएको स्मरण गराए । उनले अहिले आईओएफटीसीले बृहत आकार लिइसकेको बताउँदै तेक्वान्दोको युनिफर्म लगाउने सबै खेलाडीका लागि यो प्रतियोगिता खुला रहेको बताए ।

प्रतियोगिताको बजेट विभिन्न निकायसँगै प्रायोजकहरूबाट आउने रकम र खेलाडी दर्ता शुल्क नै मुख्य रहेको उनले बताए ।  

कान्तिपुर संवाददाता

Link copied successfully