रामपुरका बालबालिकालाई भलिबल र फुटबल प्रशिक्षण

जेष्ठ ११, २०८२

माधव अर्याल

Volleyball and football training for children of Rampur

पाल्पा — रामपुर नगरपालिकाले खेलाडीको सीप तिखार्ने र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले २१ दिने प्रशिक्षण सुरु गरेको छ । नगरपालिकाले भलिबल र फुटबलको प्रशिक्षण सुरु गरेको हो । नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनका अनुसार फुटबलतर्फ ८ देखि १२ वर्षसम्मका सहभागी छन् ।

भलिबलतर्फ २० वर्षमुनिका खेलाडी उत्पादन गर्ने गरी किशोर किशोरीलाई सहभागी गराइएको छ । भलिबलमा महिला ५० जना र पुरुषतर्फ ५५ जना सहभागी भएका छन् । भलिबल प्रशिक्षणका लागि रामपुर आउन नसक्नेका लागि सम्बन्धित क्षेत्रमै घुम्ती प्रशिक्षण सञ्चालन गरिएको नगर खेलकुद विकास समितिका महासचिव राजु गुरुङले बताए । फुटबलमा रामपुर नगर क्षेत्रका २ सय १० जना छात्रछात्राको सहभागीता रहेको छ ।

जेठ २७ गतेसम्म सञ्चालन हुने प्रशिक्षणमा भलिबल प्रशिक्षणको नेतृत्व राष्ट्रिय भलिबल रेफ्री अनन्तप्रसाद श्रेष्ठले गरेका छन् । नगर फुटबल संयोजक अनिल शाही ठकुरीको नेतृत्वमा अखिल नेपाल फुटबल संघ एन्फाका प्रशिक्षक सरोज अधिकारी, एन्फा रेफ्री केशव श्रेष्ठ साथै अग्रज खेलाडी कशम मल्ल ठकुरी, गौरव क्षेत्री, गुमबहादुर राम्जाली लगायतले प्रशिक्षण दिएका हुन् । ‘यो प्रशिक्षणले नयाँ खेलाडी उत्पादनका लागि उत्साह जगाउने छ,’ नगर खेलकुद विकास समितिका अध्यक्ष सेनले भने, ‘बढ्दो सहरीकरणले बस्ती बढेको र बालबालिकामा खेलकुदको भावना जागृत गराउन प्रशिक्षण सहयोग हुने विश्वास छ ।’

Volleyball and football training for children of Rampur

रामपुर नगरपालिकाले हरेक वर्ष मेयर कप विविध खेलकुद सञ्चालन गर्दै आएको र सोही अनुसार खेलाडी उत्पादन गर्न प्रशिक्षण सुरुवात गरिएको नगरप्रमुख रमणबहादुर थापाले बताए । उनका अनुसार खेलकुद प्रशिक्षणले विद्यार्थीहरूलाई अनुशासनमा राख्न सकिने र उनीहरूको सर्वाङ्गिण विकासमा टेवा पुग्ने बताए । ‘मेयरकप अन्तर्गत विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएका छौं,’ उनले भने, ‘यस वर्ष प्रशिक्षणको माध्यमबाट नयाँ पुस्तालाई खेलप्रति जागरूक गराउन खोजिएको छ ।’ 

नगर खेलकुद विकास समितिले सहजीकरण गरेको प्रशिक्षणमा नगरप्रमुख थापाले पछिल्लो समय बालबालिकाहरू इन्टरनेटमा व्यस्त हुने गरेकाले बालबालिकालाई सृजनशील र लगनशील बनाउन प्रशिक्षण महत्त्वपूर्ण हुने बताए । भविष्यमा खेलकुदको माध्यमबाटै समाजलाई चिनाउन बालबालिका सक्षम हुने र विद्यालयस्तरबाटै प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले पहल गर्ने योजना नगरपालिकाको रहेको वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताए । 

Volleyball and football training for children of Rampur

रामपुर नगरपालिकाले क्रिकेट, कबड्डी लगायतका विद्यामा पनि प्रशिक्षण गर्ने योजना रहेको उनले बताए । रामपुर नगरपालिकाले यसअघि करातेको तीन महिने प्रशिक्षण सम्पन्न गरेको छ । करातेका लागि १ सय ५५ जनालाई दुई सिफ्टमा प्रशिक्षण दिइएको थियो । करातेकी प्रशिक्षक दिया थापा थिइन् । प्रशिक्षणमा सहभागी खेलाडीले लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितामा तीन स्वर्ण पदक जितेका छन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully