पीएम कप एनभीए लिग : गण्डकीको प्रभावशाली प्रदर्शन, फाइनल यात्राको ढोका खुला

जेष्ठ ११, २०८२

दीपक परियार

PM Cup NVA League: Gandaki's impressive performance, the door to the finals is open

पोखरा — गण्डकी प्रदेशले नवौं पीएम कप एनभीए भलिबल लिगमा पुरुषतर्फ शानदार लय कायम राख्दै लगातार चौथो जित निकालेको छ । आइतबार मणिमुकुन्द भलिबल क्लबविरुद्धको स्पष्ट जितले गण्डकीको फाइनल यात्रा सम्भावनालाई झनै सशक्त बनाएको छ ।

पोखरा रंगशालाको कभर्डहलमा भएको खेलमा गण्डकीले मणिमुकुन्दलाई सोझो तीन सेटमा हराउँदै लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । पहिलो सेटमा मणिमुकुन्दले केही दबाब बनाउने प्रयास गरे पनि गण्डकीले २७–२५ ले सेट आफ्नो पक्षमा पार्न सफल भयो । त्यसपछि दोस्रो र तेस्रो सेटमा क्रमशः २५–२१ र २५–१८ को जित निकाल्दै गण्डकीले सहजै तीन अंक बटुल्यो ।

यो जितसँगै गण्डकीले १२ अंक बनाएको छ, जुन शीर्ष स्थानमा रहेको टिप टप हेल्प नेपालसँग बराबरी हो । तर सेट अन्तरका आधारमा हेल्प नेपाल शीर्षमा छ भने गण्डकी दोस्रो स्थानमा रहेको छ ।

आइतबारको अर्को खेलमा हेल्प नेपालले पनि विजयी लय कायम राख्दै कोशी प्रदेशलाई २५–२१, २५–२० र २५–२२ ले हरायो । यो हेल्प नेपालको लगातार चौथो जित हो । १२ अंकसहित उसले तालिकाको शिखरमा कब्जा जमाएको छ । कोशी प्रदेशका लागि भने लिग यात्रा सहज छैन । यसअघिका तीन खेलमध्ये उसले एक मात्र जितेर ३ अंकमै सीमित छ ।

पुलिसको दोस्रो जित, सुदूरपश्चिमको संघर्ष यथावत्

आइतबारकै अर्को पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशमाथि एकपक्षीय जीत दर्ता गर्‍यो । पुलिसले पहिलो सेट २५–१९ ले जितेपछि दोस्रो सेटमा अझै दबाब बनाउँदै २५–९ ले सहजै सेट कब्जा गर्‍यो । तेस्रो सेट पनि २५–१९ ले आफ्नो पक्षमा पार्दै पुलिसले दोस्रो जित निकाल्यो । आइतबार नै पुरुषतर्फ विभागीय डर्बी आर्मीले एपीएफलाई क्लिन स्वीप गर्‍यो । आर्मीले पहिलो सेट २५–१३, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ मा टुंग्यायो ।

महिलातर्फ न्यू डायमन्ड र पुलिस अपराजित

महिलातर्फ आइतबार दुईवटा महत्त्वपूर्ण खेल सम्पन्न भए । पहिलो खेलमा न्यू डायमन्ड स्पोर्ट्स क्लबले त्रिभुवन आर्मी क्लबमाथि ३–१ को जित निकाल्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लियो । न्यू डायमन्डले पहिलो सेट २१–२५ ले गुमाए पनि त्यसपछि पुनरागमन गर्दै २५–१४, २५–२१ र २५–२१ को सेटमा जित निकाल्यो । यो न्यू डायमन्डको लगातार तेस्रो जित हो ।

दोस्रो खेलमा नेपाल पुलिस क्लबले एपीएफमाथि ३–१ को जित दर्ता गर्‍यो । पुलिसले पहिलो सेट २५–१९ ले जिते पनि दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तर त्यसपछि टोलीले पुनः लय समात्दै तेस्रो र चौंथो सेटमा क्रमशः २५–१८ र २५–२१ को नतिजा निकाल्यो । यस जितसँगै पुलिस ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ, भने एपीएफ ६ अंकमा सीमित छ । न्यु डायमन्ड ९ अंकसहित सेटको आधारमा दोस्रो स्थानमा छ ।

नेपाल भलिबल संघको आयोजनामा भइरहेको प्रतियोगिता जेठ १५ सम्म चल्नेछ ।

पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन् । सबै टोलीले एक–अर्काविरुद्ध खेल खेलेपछि शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ । तेस्रो र चौंथो स्थानमा रहने टोलीले कांस्य पदकको लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले ८ लाख रुपैयाँ, उपविजेताले ४ लाख र तेस्रो स्थान हासिल गर्ने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ पाउने छन् भने विभिन्न विधागत उत्कृष्ट प्रदर्शनकर्तालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

महिलातर्फको फाइनल पुग्ने दुई टोलीले नेपालमै आयोजना हुने काभा क्लब च्याम्पियन्स लिगमा सहभागी हुनेछन् । पुरुषतर्फको विजेता टोलीले माल्दिभ्समा आयोजना हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully