काठमाडौँ — गोल्डेनगेटले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा आइतबार कीर्तिपुरलाई पराजित गरेको छ ।
कीर्तिपुर कभर्डहलमा भएको खेलमा गोल्डेनगेटले घरेलु टोली कीर्तिपुरलाई ८१–६४ स्कोरले हरायो । पाँचौं जितपछि गोल्डनेगेटले ६ खेलबाट शीर्षस्थानको हाउन्ड्स एकेडेमीसँगै समान ११ अंक जोडेको छ । पहिलो खेलमा टाइम्ससँग पराजित गोल्डेनगेटले लिगमा लगातार पाँचौं जित पाएको हो । लिगमा हाउन्ड्सलाई हराउने एकमात्र टिम गोल्डेनगेट हो ।
कीर्तिपुरको यो लगातार चौथो हार हो । सुरुआती दुई खेलमा सामाखुसी युथ क्लबलाई हराएपछि कीर्तिपुरले जित हात पार्न सकेको छैन । कीर्तिपुरलविरुद्ध गोल्डेनगेटको यो दोस्रो जित हो । यसअघि पहिलो खेलमा गोल्डेनगेटले कीर्तिपुरलाई ९२–६५ स्कोरले हराएको थियो ।
आइतबार गोल्डेनगेटले सुरुदेखि नै अग्रता लिएर अन्तिमसम्म कायम राखेको थियो । पहिलो क्वाटर २६–२० र दोस्रो क्वाटर १८–१५ ले आफ्नो पक्षमा पारेको थियो । गोल्डेनगेटले तेस्रो क्वाटर २१–१७ र चौथो क्वाटर १७–१२ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो । मोस्ट भ्यालुएबल खेलाडी गोल्डेनगेटका अजय कुशवाह भए । गोल्डेनगेटका लागि सुदीप पौडेलले सर्वाधिक २३ स्कोर गरे । कीर्तिपुरका निश्चल महर्जनले २२ स्कोर गरेका थिए ।
