१३ औं कान्तिपुर हाफ म्याराथन जेठ १७ मा, पुरस्कार राशिमा वृद्धि

जेष्ठ ११, २०८२

कान्तिपुर संवाददाता

13th Kantipur Half Marathon on 17th May, increase in prize money

काठमाडौँ — कान्तिपुर पब्लिकेशन्स लिमिटेडले हरेक वर्ष आयोजना गरिरहेको कान्तिपुर हाफ म्याराथनको १३ औं संस्करण यही जेठ १७ गते शनिबार हुने भएको छ ।  ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको यस वर्षको नारा ‘लेट्स रन फर ग्रिनर टुमारो’ रहेको छ ।

नेपाली एथलेटिक्समा प्रतिष्ठित रनको रूपमा कान्तिपुर हाफ म्याराथन स्थापित भएको छ । विभिन्न देशमा आयोजना हुने सिटी म्याराथनको अवधारणामा कान्तिपुर म्याराथन सफल हुँदै गइरहेको आइतबार आयोजित पत्रकार सम्मेलनमा कान्तिपुर पब्लिकेशन्सका सीईओ महेश स्वाँरले बताएका छन् । हाफ म्याराथनको कान्तिपुर म्याक्स टेलिभिजन, ईकान्तिपुर डटकम, कान्तिपुर इभेन्टको युट्युब पेजबाट प्रत्यक्ष प्रसारण गरिने छ । 

१३ औं संस्करणको कान्तिपुर हाफ म्याराथनमा महिला र पुरुष दुवैतर्फ समान ४ विधामा दौड हुनेछ । हाफ म्याराथन २१.१ किलोमिटरको हुनेछ । अन्य ३ विधामा कलेज रन ७ किमि, कर्पोरेट एन्ड सेलेब रन ५ किमि र ह्विलचेयर रेस ३ किमिको हुनेछ । 

सबै विधामा गरी २ हजार ५ सयभन्दा बढीको सहभागिता रहने सीईओ स्वाँरले जानकारी गराए । उनले हरेक वर्ष हाफ म्याराथनलाई परिष्कृत गर्दै जाने क्रममा यसपालि नगद पुरस्कार राशिमा पनि वृद्धि गरिएको जानकारी गराए । उनका अनुसार प्रतियोगिताको कुल पुरस्कार राशिमा ८ लाख नगद र ४ लाख बराबरको गिफ्ट ह्याम्पर रहेको छ ।

कान्तिपुर हाफ म्याराथनका पुरुष र महिला विजेताले जनही १ लाख ५० रुपैयाँ पुरस्कार जित्ने छन् । दोस्रोदेखि छैटौं हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार जित्नेछन् । 

ह्विलचेयर रेसतर्फ विजेताले ३५ हजार, दोस्रो हुनले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ जित्नेछन् । हाफ म्याराथनमा कोर्स रेकर्ड बनाउने खेलाडीले थप २५ हजार जित्नेछन् । 

पुरुषतर्फ हरिकुमार रिमालको १ घन्टा ६ मिनेट ४१ सेकेन्डको कोर्स रेकर्ड रहेको छ । महिलातर्फ कान्छीमाया कोजुको नाममा १ घन्टा १९ मिनेट २२ सेकेन्डको रेकर्ड छ । दुवैले सातौं संस्करणमा बनाएका थिए । गत वर्ष कान्तिपुर हाफ म्याराथन आर्मीका दीपक अधिकारी र पुलिसकी राजपुरा पछाईले जितेका थिए । 

कर्पोरेट रन र कलेज रनतर्फ महिला र पुरुषका शीर्ष ३ मा रहनेले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाउने छन् । 

कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने ‘कान्तिपुर हाफ म्याराथन दौड थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमि, सल्लाघारी, कटुन्जे रोडबाट फन्को लगाएर कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर टुंगिने छ । 

हाफ म्याराथनमा ओलम्पियन सन्तोषी श्रेष्ठ, पुष्पा भण्डारी, पूर्णलक्ष्मी न्यौपाने, राजन रोकाय, खडकबहादुर खड्का, गोपीचन्द्र पार्कीलगायत चर्चित राष्ट्रिय खेलाडीले भाग लिनेछन् । 

कर्पोरेट रन सेन्ट्रल बिजेनस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, बानेश्वर, सिभिल हस्पिटल अगाडिबाट फन्को लगाएर पुनः बानेश्वर मन्डला, माइतीघर, थापाथली हुँदै सेन्ट्रल बिजनेस पार्कमा गएर टुंगिने छ । सेन्ट्रल बिजेनस पार्कबाटै सुरु हुने ह्विलचेयर रेस थापाथली, माइतीघर मण्डला, बिजुलीबजार पुल अगाडिबाट फन्को लगाएर पुनः सेन्ट्रल बिजनेस पार्कमै गएर टुंगिनेछ ।

कलेज रन थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुनेबाट फन्को लगाएर बानेश्वर, माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिने छ । 

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने कान्तिपुर हाफ म्याराथनको प्रमुख प्रायोजक ग्लोबल आईएमई बैंक, सेलिब्रेसन पार्टनर केएफसी एन्ड पिज्जा हर्ट, पेन रिलिफ पार्टनर झन्डु वाम, फुड पार्टनर नेपाल खाद्य तथा क्लाइमेट जस्टिस पार्टनरमा सेभ द चिल्ड्रेन, एयरलाइन्स पार्टनरमा श्री एयरलाइन्स, स्पोर्ट्स वेयर पार्टनरमा केल्मी रहेका छन् । 

रेस डाइरेक्टर एथलेटिक्स संघका आरके विष्टले प्रतियोगिताका प्राविधिक पक्षबारेमा जानकारी गराएका थिए । उनले रुटसहित आवश्यक प्राविधिक जनशक्ति प्रतियोगिताका लागि तयारी अवस्था रहेको बताए । 

दौड प्रतियोगिताको प्रमुख भूमिका ट्राफिक व्यवस्थापनको पनि रहने गर्दछ । ट्राफिक प्रहरी प्रमुख विनोद घिमिरेले पहिलोदेखि अहिलेसम्मको संस्करणसम्म आफूहरू कान्तिपुर हाफ म्याराथनमा सँगसँगै रहेको स्मरण गराउँदै कुनै पनि अवरोधबिना सहभागीले दौड्न सक्ने गरी ट्राफिक व्यवस्थापन गरिने प्रतिबद्धता जनाए । 

मुख्य प्रायोजक ग्लोबल आईएमई बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेलले म्याराथनको यस प्रतिष्ठित प्रतियोगितामा लामो समयदेखि जोडिन पाउँदा गौरवान्वित महसुस भएको बताए । उनले एक दिन भए पनि दौडेर रमाइलो गरौं भन्न चाहेको सुनाए ।

२०६७ सालबाट सुरु भएको कान्तिपुर हाफ म्याराथनमा २०७५ सालमा सबैभन्दा बढी २ हजार ५ सय ६० सय जनाले ‘कान्तिपुर हाफ म्याराथन’ दौडेका थिए । महिला र पुरुषका लागि समान पुरस्कारले पनि कान्तिपुर हाफ म्याराथनप्रति खेलाडीको आकर्षण बढिरहेको सीईओ स्वाँरले बताए । 

प्रतियोगिताको सफलता खेलाडीमा महिलातर्फ कान्छीमाया कोजु र पुरुषतर्फ हरिकुमार रिमाल रहेका छन् । कान्छिमायाले पाँचपटक र हरिकुमार चार पटक कान्तिपुर हाफ म्याराथन जितेका छन् । हाफ म्याराथनमा १८ वर्ष पुगेका खेलाडीले मात्र सहभागिता जनाउन पाउने छन् ।

कान्तिपुर पब्लिकेशन्सले पहिलो सात संस्करण आफ्नो वार्षिकोत्सवसँगै फागुन ७ गते नै ‘कान्तिपुर हाफ म्याराथन’ गर्दै आएको थियो । यसलाई छुट्टै विधा बनाउनुपर्छ भनेर आठौं संस्करणदेखि फरक मितिमा प्रतियोगिता आयोजना गर्न थालेको सीईओ स्वाँरले बताए ।

कान्तिपुर पब्लिकेशन्सको थापाथलीस्थित सेन्ट्रल विजनेस पार्कमा रहेको कार्यालयमा नाम दर्ता जेठ १४ गतेसम्म खुला रहने जनाइएको छ । साथै kantipurevents.com मा अनलाइनबाट पनि नाम दर्ता गर्न सकिने जनाइएको छ ।

कान्तिपुर

Link copied successfully