काठमाडौँ — प्रोफेसनल गल्फर रामे मगरको टिमले शनिबार सूर्य नेपाल च्यालेन्ज प्रो–एमको उपाधि जितेको छ । रोयल नेपाल गल्फ क्लबमा रामेको टिमले १ सय २४ अंकसहित उपाधि जित्यो । एमेच्योर गल्फर सत्यजंग रानाले ४४, सरोज थापाले ४१ र अञ्जिला योञ्जनले ३९ स्कोर गरेका थिए ।
प्रो भुवन नगरकोटीको टिमले १ सय १७ अंकसहित दोस्रो स्थान पायो । एमेच्योर गल्फर रवीन्द्रपुरुष ढकाल, मुक्तिसेन गुरुङ र तारा कार्की चित्रकारले समान ३९ स्कोर गरेका थिए । प्रो रमेश अधिकारीको टिम १ सय १४ स्कोरसहित तेस्रो भयो । एमेच्योर खेलाडी स्वप्निल भट्टराईले ३९, फुन्सुक नोर्बु लामाले ३८ र स्वदेश गुरुङले ३७ स्कोर गरे ।
महिलातर्फ अञ्जलीले ३९ स्कोरमा राष्ट्रिय टिमकी तारा कार्कीलाई काउन्ट ब्याकमा हराउँदै ट्रफी जितिन् । झलेन्द्र भट्टराईले लङ्गेस्ट ड्राइभ र फुन्सुक नोर्बुले क्लोजेस्ट टु दी पिनको उपाधि जिते । प्रो–एममा कुल ९० एमेच्योर गल्फरको सहभागिता थियो ।
विजयी खेलाडीलाई रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बा, एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे ।
सूर्य नेपाल च्यालेन्जको उपाधि धरानका प्रो शुक्रबहादुर राईले कोर्स रेकर्डसहित जितेका थिए ।
अब सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत आठौं तथा अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर जुन १० देखि १३ सम्म गोकर्ण गल्फ क्लबमा हुनेछ ।
