तिलोत्तमा — रुपन्देहीमा जारी लीला मेमोरियल यू–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कपिलवस्तुले पाल्पामाथि सहज जित निकालेको छ ।
सिद्धार्थ क्रिकेट मैदानमा शनिबार भएको खेलमा कपिलवस्तुले पाल्पालाई १ सय ९१ रनले पारजित गरेको हो । खेलाडी रौनक श्रीवास्तवको शतकीय पारी र मलिक गद्दीको उत्कृष्ट बलिङको मद्दतमा कपिलवस्तुले पहिले ब्याटिङ गर्दै जित निकाल्यो । निर्धारित ३५ ओभरमा ३४ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर उसले २ सय ३६ रनको बलियो योगफल बनायो ।
उसका लागि रौनक श्रीवास्तवले ८८ बलको सामना गर्दै १६ चौका र १ छक्काको मद्दतमा १ सय १० रनको शतकीय इनिङ खेले । त्यस्तै मुन्ताज अलीले ४२ र सुरज यादवले २० रनको योगदान गरे । बलिङमा पाल्पाका विष्णु न्यौपानेले ४, उपसन पाण्डेले ३ तथा हिमाल कँडेलले २ विकेट लिए ।
प्रतिउत्तरमा पाल्पा १० ओभरमा सबै विकेट गुमाएर जम्मा ४५ रनमै समेटियो । उसका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । उपसन विक्रम जिसीले सर्वाधिक ८ रन बनाए पनि अन्य ५ खेलाडी शून्य रनमै पेभेलियन फर्किए ।
बलिङमा कपिलवस्तुका मलिक गद्दीले ४ ओभरमा १४ रन खर्चेर ५ विकेट हात पारे । यस्तै, सुरज यादवले ३ तथा कमरान अहमद र रौनक श्रीवास्तवले समान १–१ विकेट लिए । खेलमा कपिलवस्तुका रौनक श्रीवास्तव प्लेयर अफ द म्याच घोषित भए ।
आइतबार सिद्धार्थ क्रिकेट मैदानमा नवलपरासी र कपिलवस्तु भिड्नेछन् भने एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा रुपन्देही र पाल्पाबीच खेल हुने लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले बताए ।
