पोखरा — नवौं पीएम कप एनभीए लिगमा गण्डकी प्रदेशले पुरुषतर्फ शानदार प्रदर्शन जारी राख्दै लगातार तेस्रो जित हात पारेको छ । पोखरा रंगशालास्थित कभर्ड हलमा शनिबार भएको खेलमा गण्डकीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा आफ्नो दबदबा कायम राखेको हो ।
पाकिस्तानी तीन खेलाडी सम्मिलित गण्डकीले पुलिसमाथि २५–२२, २५–२२ र २५–२३ को नतिजामा क्लिन स्वीप गर्यो । तीनै सेटमा गण्डकीको प्रदर्शन बलियो रहँदा पुलिसले खेलमा फर्कने मौका पाउन सकेन । लगातार तीन खेल जित्दै गण्डकीले ६ अंक जोडेर शीर्ष स्थानको दाबी बलियो बनाएको छ ।
शनिबार भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले लिगको पहिलो जित हात पार्यो । मणिमुकुन्द भलिबल क्लबसँगको रोमाञ्चक भिडन्त पाँचौं सेटसम्म पुगेर ३–२ को नतिजामा आर्मीको पक्षमा टुंगिएको थियो ।
मणिमुकुन्दले २५–२० ले पहिलो सेट जित्दै राम्रो सुरुआत गरेको थियो । तर दोस्रो सेट २३–२५ ले गुमाएपछि खेल १–१ को बराबरीमा पुगेको थियो । तेस्रो सेटमा पुनः २७–२५ ले जित्दै मणिमुकुन्दले अग्रता कायम गर्यो । त्यसपछि चौथो सेटमा आर्मीले २५–२२ ले पुनः बराबरी ल्यायो । निर्णायक पाँचौं सेटमा आर्मीले सशक्त प्रदर्शन गर्दै १५–१० ले सेट जित्यो र खेल आफ्नो पक्षमा पार्यो । यो लिगमा पहिलोपल्ट खेल पाँचौं सेटमा पुगेको हो ।
यसअघि आर्मी क्लब गण्डकी प्रदेश र टिप टप हेल्प नेपालसँग पराजित भएको थियो । यो जितसँगै आर्मीले प्रतियोगितामा आफ्नो पहिलो अंक जोड्न सफल भएको छ ।
शनिबारै सम्पन्न महिलातर्फका खेलमा टिप टप न्यु डायमन्ड, नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले जित हात पार्दै लगातार दोस्रो सफलता पाएका हुन् ।
