काठमाडौँ — नेपाल मिक्स बक्सिङ संघ, उमा नेपाल र बूढानीलकण्ठ कुङ्फुको संयुक्त आयोजनामा प्रथम एसियाली मिक्स बक्सिङ प्रतियोगिता अर्को साता हुने भएको छ । दुईदिने प्रतियोगिताका खेल बूढानीलकण्ठ नगरपालिका–३ स्थित बूढानीलकण्ठ बैंक्युटमा हुनेछ ।
शुक्रबार र शनिबार हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, थाइल्यान्ड, बंगलादेश र श्रीलंका गरी ६ राष्ट्रका १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक मिक्स बक्सिङ संघका अध्यक्ष सुकमान लामाले शनिबार पत्रकार सम्मेलनमा बताए ।
इराक, इरान र अफगानिस्तानका प्रतिनिधि पनि प्रतियोगिताका लागि नेपाल आउनेछन् ।
बूढानीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगितामा सिनियर, सब जुनियर र जुनियर गरी विभिन्न ३० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । कुनै पनि मार्सल आर्ट्सको राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।
प्रतियोगिता गर्न करिब ३१ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका खेलकुद संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङले प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरे । मेयर अधिकारीले बूढानीलकण्ठ नगरपालिकाले खेलकुदको विकास र खेलाडीको हितलाई मध्यजनर गरी विभिन्न गतिविधि सञ्चालन गरिरहेको बताए । उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने नगरपालिका खेलाडीका लागि नगद पुरस्कारको व्यवस्था गरिएको बताउँदै वार्षिक क्यालेन्डर नै बनाएर नगरको खेलकुदलाई चलायमान बनाउने योजना रहेको सुनाए ।
खेलकुद संयोजक तामाङले प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सरोकार सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
यूकेस्थित उमा मुख्यालयबाट प्राप्त मिक्स बक्सिङ संघका अध्यक्ष सुकमान लामाको ब्ल्याक वेल्ट चौथो डानको प्रमाणपत्र पनि प्रदान गरियो ।
