२१ औं एसियन कराते च्याम्पियनसिप : यसपालि नेपाल पदकविहीन

जेष्ठ १०, २०८२

ध्रुव तुलाधर

21st Asian Karate Championship: Nepal without a medal this year

काठमाडौँ — गत संस्करणकी पदक विजेता एरिका गुरुङ २१ औं एकेएफ एसियन सिनियर कराते च्याम्पियनसिपमा पदकविहीन भएकी छन् । एरिकासहित व्यक्तिगततर्फ शुक्रबार प्रतिस्पर्धा गरेका सबै नेपाली खेलाडी पदकविहीन हुन पुगे ।

यो संस्करण उज्वेकिस्तानको तास्कन्दमा शुक्रबार सुरु भएको छ । एसियाडकी पदकधारी एरिकाले गत वर्ष हाङचाउमा यसै प्रतियोगिताको २० औं संस्करणमा रजत जितेकी थिइन् । त्यो एसियन च्याम्पियनसिपमा नेपालले जितेको पहिलो ठूलो पदक थियो ।

महिला ६८ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गरेकी एरिकाले पहिलो फाइटमा चाइनिज ताइपेईकी लिन यि–हसनलाई ४–३ अंकले पराजित गर्दै गतिलो सुरुआत गरेकी थिइन् । तर, दोस्रो चरणको खेलमा उनी आयोजक राष्ट्र उज्वेकिस्तानकी मोख्लारोयिम खाकिमजोनोभासँग प्रतिस्पर्धात्मक खेलमा २–१ ले पराजित भइन् ।

च्याम्पियनसिपमा एरिकासहित नेपालका ११ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पहिलो दिन सानुमाया थिङ र साजन मोक्तान कांस्य पदक नजिक पुगेर चुकेका छन् । दुवै रिपिचेजमा दोस्रो खेलमा पराजित भएपछि पदकविहीन भए । सानुमायाले तीन र साजनले दुई खेल जितेका थिए ।

महिला एकल कातामा प्रतिस्पर्धा गरेकी सानुमाया पहिलो खेलमा ३६.४० स्कोर गरेर अगाडि बढिन् । उनकी प्रतिस्पर्धी सिंगापुरकी सानोन लियोनले ३५.३० स्कोर बटुलिन् । दोस्रो खेलमा उनले मकाउकी लाम साउ सोइलाई हराइन् । सानुमायाले ३५.९० स्कोर बटुल्दा लामले ३५.१० स्कोरमात्र जोडिन् । तेस्रो राउन्डमा उनी हङकङ ग्रेस लाउ मो शेउङसँग पराजित भइन् । सानुमायाले ३५.७० स्कोर जोड्दा गेसले ३९.१० स्कोर गरेकी थिइन् ।

त्यसपछि सानुमाया रिपिचेज पुगेकी थिइन् । पहिलो खेलमा उनले साउदी अरेबियाकी मनल अजाइदलाई हराइन् । सानुमायाले ३७.८० स्कोर गर्दा मनलले ३५.२० स्कोरमात्र गरिन् । यो जितले पदक फाइटमा पुगेकी सानुमाया भियतनामकी ट्राम गुएनसँग हार्न पुगिन् । उनले ३७.४० स्कोर गर्दा ट्रामले ३९.६० स्कोर गर्दै कांस्य पदकको बाजी मारिन् ।

त्यस्तै पुरुष ५५ केजीमुनि तौलमा साजन पनि पदक नजिक पुगेर चुकेका हुन् । उनी कांस्य पदकका लागि भएको रिपिचेजको दोस्रो खेलमा मलेसियाका सन्डरम कालियनासँग ९–१ ले पराजित भएर पदक गुमाए । उनले रिपिचेजको पहिलो खेलमा चाइनिज ताइपेईका यो–वेन शेन ८–२ ले हराएका थिए । त्यसअघि पहिलो चरण बाइ पाएर दोस्रो चरणको खेलमा फिलिपिन्सका क्रिक जमल्यालाई ४–२ ले हराएका थिए । अर्को खेलमा साजन काजकिस्तानका झोलामन बिगाबेलसँग ७–१ ले हारेपछि रिपिचेजमा पुगेका थिए ।

महिला ५५ केजीमुनि सविना श्रेष्ठले किर्गिस्तानकी अमिना तैरोभाविरुद्ध ६–० जित पाएकी थिइन् । दोस्रो चरणको खेलमा उनी भियतनामकी थी माइ ताम होङसँग २–० ले पराजित भइन् । त्यसपछि उनले रिपिचेजमा मौका पाएकी थिइन् । त्यहाँ सविना जापानकी आइरी शिमासँग ७–१ ले पराजित भएकी थिइन् ।

महिला ५० केजीमुनि अञ्जली महर्जन पहिलो खेलमै हङकङकी तिन यी साङसँग ३–० अंकले पराजित भइन् । महिला ६१ केजीमुनि निरुपा दोङ तामाङ पहिलो खेलमा चीनकी चेनलिङ वाङसँग ८–० को अन्तरले पराजित भइन् ।

पुरुष ८४ केजीमुनि नेपालका महम्मद शेखु आलम पनि पहिलो खेलमै पराजित भए । पहिलो चरणमा बाइ पाएका उनी चाइनिज ताइपेईका चेन–एन पानसँग ६–१ अंकले पराजित भएका थिए । ६० केजीमुनि तौलका प्रतिस्पर्धी मीनबहादुर तामाङ पहिलो चरणमा चाइनिज ताइपेईका ली–विइ सुविरुद्धको खेल ५–३ को प्रतिस्पर्धात्मक स्कोरमा गुमाए ।

पुरुष ६७ केजीमुनि सन्तोष श्रेष्ठले काजकिस्तानका खेलाडी यारकिनवेक बेतुरेभसँग ३–१ को अन्तरले पराजित भए । उनले पहिलो खेलमा इन्डोनेसियाका हुटागोल गोर्डिलिन्डोलाई हराएका थिए । पुरुष एकल काताका प्रतिस्पर्धी सोनिम मानन्धर पनि पहिलो खेलमै पराजित भए । उनले मकाउका हाउ मन फोङविरुद्धको खेल गुमाएका हुन् । सोनिमले ३६.६० स्कोर गर्दा हाउले ३९.३० स्कोर गरेर अर्को चरणको यात्रा गरे ।  

पुरुष ८४ केजीमाथिको तौल समूहका प्रतिस्पर्धी तेन्जिङ शेर्पा पनि पदकसामुन्ने पुगे । उनले जापानका फुमिया योसिमुरासँग रिपिचेजको दोस्रो खेल गुमाएका थिए । त्यसअघि तेन्जिङले रिपिचेजको पहिलो खेलमा भियतनामका थुएन ली मिन्हलाई ५–१ ले हराएर आफूलाई पदक नजिक पुर्‍याएका थिए ।

पहिलो चरणका बाई पाएका तेन्जिङ दोस्रो चरणको खेलमा थाइल्यान्डका तेरावट काङटोङसँग ८–० स्कोरले पराजित भएपछि रिपिचेज फाइटतर्फ पुगेका थिए । सोनिम, सन्तोष, मीन, शेखु र निरुपाले २० औं संस्करण पनि खेलेका थिए ।

नेपाली टोलीका प्रशिक्षक मन्डेकाजी श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जित सँगसँगै हार बेहोर्दा खुसी र दुःखी भएको प्रतिक्रिया व्यक्त गरेका छन् । टोलीको मुख्य प्रशिक्षकमा कुशल श्रेष्ठ र टिम म्यानेजरमा किशोर भट्टराई रहेका छन् ।

ध्रुव तुलाधर दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । उनी हाल कान्तिपुर दैनिकको खेलकुद ब्युरोमा कार्यरत छन् ।

Link copied successfully