काठमाडौँ — कोर्स रेकर्डसहित पूर्व नम्बर एक गल्फर शुक्रबहादुर राई सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् ।
शुक्रले समग्रमा १७ अन्डर २ सय ५५ को प्रभावशाली स्कोरमा नीरज तामाङलाई ४ स्ट्रोकले हराएर उपाधि आफ्नो पोल्टामा पारे । उनले एमेच्योर खेलाडी सदभाव आचार्यको नाममा रहेको १५ अन्डर ५७ को रेकर्ड तोडेका थिए । सदभावले यही सिजन सूर्य नेपाल काठमाडौं ओपनमा उक्त कोर्स रेकर्ड बनाएका थिए ।
सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत यो सातौं प्रतियोगिताको अन्तिम दिन शुक्रबार ६ अन्डर ६२ को स्कोर बनाएका शुक्रले १ लाख १० हजार रुपैयाँ पुरस्कार जिपते । उनको करियरको यो एघारौं उपाधि हो । यो सिजन तीन उपाधि जितेका नीरजले ६ अन्डर ६२ को स्कोर बनाए । समग्रमा १३ अन्डर २ सय ५९ को स्कोरमा उनी दोस्रो भएर ७० हजार जित्न सफल भए ।
समग्रमा ८ अन्डर २ सय ६४ को स्कोरसहित दिनेश प्रजापतिले तेस्रो स्थानमा हासिल गरे । उनले ३ अन्डर ६५ को स्कोर बनाए । उनले ५० हजार पुरस्कार पाए । १ ओभर ६९ स्कोरसहित समग्रमा ७ अन्डर २ सय ६५ को नतिजमा भुवनकुमार रोक्का चौथो भ । उनले ४२ हजार पाए । समग्रमा ५ अन्डर २ सय ६७ सहित सञ्जय लामा पाँचौं भए । उनले ३ अन्डर ६५ को स्कोर गरे । उनी ३७ हजार पुरस्कारमा नाममा लेखाउन सफल भए ।
तोरणविक्रम शाही, साबिक विजेता रवि खड्का र वसन्तराज गुरुङले समग्रमा ४ अन्डर २ सय ६८ सहित संयुक्त छैटौं स्थान हासिल गरे । उनीहरूलाई जनही ३० हजार प्रदान गरियो ।
समग्रमा १ अन्डर २ सय ७१ बनाएका नेपाल नम्बर एक भुवन नगरकोटीले नवौं स्थानमा पाए । उनले २ अन्डर ६६ स्कोर गरे । समग्रमा २ ओभर २ सय ७४ सहित रमेश अधिकारी दसौं भए । भुवनले २४ हजार र रमेशले २१ हजार पाए ।
अन्तिम १८ होलको सुरु गर्दा शुक्रसँग ३ स्ट्रोकको अग्रता रहेको थियो । उनले दोस्रोदेखि पाँचौं होलसम्म चार बर्डी प्रहार गरे । उनलाई अन्य खेलाडीले चुनौती नै दिन सकेनन् । फ्रन्टनाइन ४ अन्डर ३० मा सकेर ५ पारको १० औं होलमा इगलको सफलता प्राप्त गरे । १३ र १४ औं होलमा शट बचाए । उनले १२ र १८ औं होलमा बोगी खेप्दै ब्याकनाइन २ अन्डर ३२ मा सके ।
नीरजले पहिलो, चौथो र पाँचौं होलमा बर्डी प्रहार गर्दा सातौं होलको बोगीले फ्रन्टनाइन २ अन्डर ३२ मा पूरा गरे । १०औं होलमा इगल तथा १२ र १८ औं होलको बर्डीले ब्याकनाइनमा ४ अन्डर ३० स्कोर नतिजा निकाले ।
दिनेशले फ्रन्टनाइन १ अन्डर ३३ र ब्याकनाइन २ अन्डर ३२ मा सके । उनले पहिलो, चौथो सातौं, एघारौं र १६ औं होलमा शट बचाए भने आठौं र नवौं होलमा बोगी खेपे ।
एमेच्योरतर्फ समग्रमा ३ ओभर २ सय ७५ सहित राहुल विश्वकर्माले निश्चयजंग रायमाझीलाई एक स्ट्रोकले हराएर उपाधि जिते । समग्रमा ४ ओभर २ सय ७८ सहित निश्चयजंग दोस्रो भए । दुवैले २ ओभर ७० मा खेल टुंग्याए ।
विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल म्यानेजर (मार्केटिङ) केशव प्रधान, एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, एनपिजिएका सल्लाहकार घनश्याम थापा, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे ।
अन्तिम दिन शनिबार प्रो एम प्रतिस्पर्धा हुनेछ । जहाँ एमेच्योर खेलाडी र प्रोफेसनल गल्फर भिड्ने छन् ।
