जुम्ला — कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालमा भएको पाँचौं रारा ट्रेल रनको उपाधि जुम्लाका युवकराज बुढा र सुनमाया बुढाले हात पारेका छन् । पुरुषतर्फ कनकासुन्दरी गाउँपालिका-३ लुमका युवकराज र महिलातर्फ पातारासी गाउँपालिका-२ की सुनमायाले उपाधि चुमेका हुन् ।
युवकराजले १६ किलोमिटरको दूरी १ घण्टा १२ मिनेट १८ सेकेन्डमा पार गरेर उपाधि चुमे । कनकासुन्दरी-१ कै सोमबहादुर रावतले १ घण्टा १४ मिनेट १९ सेकेन्डमा सो दूरी पार गरेर दोस्रो स्थान हासिल गरे । कनकासुन्दरी–२ जुम्लाकै चन्द्र रावतले १ घण्टा १४ मिनेट ४४ सेकेन्ड लगाएर तृतीय स्थान हासिल गरेका थिए ।
महिलातर्फ सुनमायाले १६ किलोमिटर दूरी १ घण्टा २४ मिनेट १८ सेकेन्डमा पार गरिन् । पातारासी– २ कै कल्पना बुढाले १ घण्टा २५ मिनेट ३५ सेकेन्डमा दूरी पार गरेर द्वितीय स्थान पक्का गरिन् । जुम्लाकै गुठिचौर गाउँपालिका–३ की राज्यलक्ष्मी रावलले १ घण्टा २५ मिनेट ४६ सेकेन्ड लगाएर तेस्रो स्थान हासिल गरेकी हुन् ।
महिलातर्फ ३८ जना र पुरुषतर्फ १७५ जना धावकले भाग लिएका थिए । विजेता सबै खेलाडी जुम्लाका हुन् । पाँच वर्षदेखि नेपाली सेनाले रारातालको सौन्दर्यता उजागार गर्न रारा ट्रेल रनको आयोजना गर्दै आइरहेको छ । यो पटक सेनाको हनुमानध्वज गुल्मले रारा ट्रेल रनको आयोजना गरेको थियो ।
ट्रेल रनमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फका विजेता खेलाडीहरुलाई क्रमश: जनही ५० हजार रुपैयाँ, ३० हजार रुपैयाँ र २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । ट्रेल रनमा प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे, सेनाका उत्तर-पश्चिम पृतना उपरथी अनुपजंग थापा, सहायक रथी सञ्जय देउजा, गुल्मपति खीमबहादुर अधिकारीलगायत सहभागी थिए ।
कर्णालीको रारा प्राकृतिक सुन्दरताले मात्र भरिएको छैन, खेल पर्यटनका हिसाबले पनि उत्तकै अब्बल छ भन्ने सन्देश फैलाउन हरेक वर्ष ट्रेल रनको आयोजना भइरहेको गुल्मपति अधिकारीले बताए । यो रेसले पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको काम गरिरहेको छ, गुल्मपति अधिकारीले भने, ‘खेलाडीको उत्पादन पनि गरिरहेको छ ।’
