काठमाडौँ — ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले नेपाल ट्रायथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ र नेपाल घोडाचढी संघका रवि राजकर्णिकारलाई कारबाही गरेको छ ।
ओसीएको एथिक्स कमिटीले अलग–अलग पत्र लेख्दै दुवैलाई ९० दिनसम्मका लागि आफूअन्तर्गतका कुनै पनि कार्यक्रममा सहभागी हुन नपाउने गरेर प्रतिबन्ध लगाएको हो ।
एथिक्स कमिटीका प्रमुख देवेन्द्रनाथ सरान्गीले हस्ताक्षर गरेको पत्रमा यो प्रतिबन्ध मे महिनाको १८ देखि लागू हुने बताइएको छ । पत्रअनुसार श्रेष्ठ र राजकर्णिकारले नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाली खेलाडीको हितविपरीत काम गरेको, ओसीए र एनओसीबीचको सम्झौताअनुसार जिम्मेवारी निर्वाह नगरेको र ओसीएको निर्देशन पालन नगरेको आरोप लगाइएको छ ।
एनओसी र ओसीएको सिफारिसका आधारमा एथिक्स कमिटीले यो कारबाही गरेको पनि बताएको छ । एनओसीको सदस्यता नपाएको भन्दै पाँचवटा संघले अदालतमा मुद्दा दायर गरेपछि ओसीएको पहलमा कुवेतमा एउटा सम्झौता भएको थियो । त्यसमा श्रेष्ठ र राजकर्णिकार दुवै उपस्थित रहेका थिए । सदस्यता लिएका चार संघले सम्झौताअनुसार मुद्दा फिर्ता लिए पनि घोडाचढी संघले फिर्ता लिएको थिएन ।
