पोखरा — नवौं प्रधानमन्त्री कप (पीएम कप) भलिबल लिगको पुरुषतर्फ गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालास्थित कभर्डहलमा बिहीबारदेखि सुरु भएको लिगमा पाकिस्तानी खेलाडी सम्मिलित गण्डकीले कोशी प्रदेशलाई ३–१ सेटमा पराजित गर्दै पहिलो जित हात पारेको हो ।
खेलमा गण्डकीले २५–१५, २५–२१, २२–२५ र २५–२० को सेटमा जित निकाल्दै कोशीमाथि दबदबा जमायो । प्रतियोगितामा सहभागी पाकिस्तानी खेलाडीको प्रदर्शन उल्लेखनीय रहृयो । त्यसअघि बिहीबार पुरुषतर्फकै पहिलो खेलमा एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । एपीएफले २५–१९, २५–१६ र २५–१६ को सेटमा सहज जित निकाल्दै लिगको सफल सुरुवात गर्यो ।
पुरुषतर्फ टिपटप हेल्प नेपालले आर्मीलाई ३–० को सोझो सेटमा पाखा लगायो । तीन पाकिस्तानी खेलाडी लिएर लिगमा उत्रिएको साबिक विजेता हेल्प नेपाललाई आर्मीले पहिलो सेटमा कडा चुनौती दिएको थियो । पहिलो सेट ३०–२८ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले दोस्रो र तेस्रो सेट २५–२१ र २५–२० मा जित निकाल्यो ।
महिलातर्फ एभरेस्ट भलिबल क्लब र एपीएफ क्लबले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको नेतृत्वमा रहेको एभरेस्टले त्रिभुवन आर्मी क्लबमाथि पुनरागमन जित निकाल्यो । पहिलो सेट २२–२५ गुमाएको एभरेस्टले त्यसपछि २५–१९, २५–१७ र २५–१३ को सेटमा जित हात पार्यो । एभरेस्टमा तीनजना थाइल्यान्डका खेलाडी छन् ।
त्यसअघि महिलातर्फकै पहिलो खेलमा एपीएफले कर्णाली प्रदेशलाई २५–१०, २५–१० र २५–१५ को सोझो सेटमा पराजित गर्दै प्रतियोगिता विजयबाट सुरु गरेको थियो । हाल पुरुषतर्फ नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लबबीच खेल भइरहेको छ ।
प्रतियोगितामा महिलातर्फ ६ टोली र पुरुषतर्फ ८ टोलीको सहभागिता छ । लिगको आधारमा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् । नेपाल भलिबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता एक साता सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन खेलकुदमन्त्री तेजुलाल चौधरीले गरेका थिए ।
महिला र पुरुषतर्फ विजेता टोलीले ८ लाख, दोस्रो हुनेले ४ लाख र तेस्रोले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार र विधागत उत्कृष्ट खेलाडीलाई २५–२५ हजार रुपैयाँ पाउनेछन् । लिगका विजेता दुई टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा सहभागी हुनेछन् ।
