लुम्बिनी प्रदेशस्तरीय यू–१६ क्रिकेट प्रतियोगिता शुक्रबारदेखि 

जेष्ठ ८, २०८२

माधव ढुंगाना

Lumbini state level U-16 cricket tournament from Friday

भैरहवा — लुम्बिनी प्रदेशस्तरीय यू–१६ क्रिकेट प्रतियोगिता शुक्रबारदेखि भैरहवामा हुने भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा प्रतियोगिता हुन लागेको हो । 

राष्ट्रिय यू–१६ क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको शुक्रबार भैरहवामा आयोजति पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । खेल भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा हुनेछ । 

प्रदेश क्रिकेट संघका सदस्य एवं खेल संयोजक प्रथम पराजुलीले जेठ ९ देखि १६ गतेसम्म प्रतियोगिता संचालन हुने जनाए । भैरहवाका युवा व्यवसायी किसन बिकले आफ्नी स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा प्रतियोगितालाई मुख्य प्रायोजन गरेका छन् । प्रतियोगिताको नाम ‘लीला सेन्चुरी मेमोरियल लुम्बिनी प्रदेशस्तरीय यू–१६ क्रिकेट प्रतियोगिता’ रहेको छ ।

नेपाल क्रिकेट संघको कार्यक्रमअनुसार आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी प्रदेशका रुपन्देही, पश्चिम नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी सातवटा टिम सहभागी हुने छन् । प्रतियोगिताले उत्कृष्ट खेलाडीहरुलाई समेटेर यू–१६ क्रिकेट राष्ट्रिय प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिमको छनौट गर्ने छ ।

माधव ढुंगाना ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully