रसुवा — नुवाकोट पर्यटन समाजको आयोजनामा जेठ २४ गते लाङटाङ ट्रेल रन हुने भएको छ । लाङटाङ क्यान्जिन भ्यालीको क्याङजिन गुम्बा ३८४० मिटरबाट सुरु भई १९०० मिटर स्थित स्याफ्रुबेंसीमा पुगेर टुंगिने ट्रेल रन ३२ किमिको हुने आयोजक पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बताए ।
प्रतियोगितामा स्वदेशी र विदेशी गरी १ सयभन्दा वढी खेलाडीको सहभागिता रहने र त्यसमा राष्ट्रिय खेलाडीको सहभागिता खुला गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका विजेताले १ लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले २५ हजार र पाँचौं स्थान हात पार्ने खेलाडीले १५ हजार पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिता आयोजनाका लागि करिव ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । २०७२ को विनाशकारी भूकम्पले निकै प्रभावित बनाएको लाङटाङ क्षेत्रमा पर्यटनलाई पुनर्जीवन दिन र हिमाली दौडलाई विश्व ट्रेल रनको नयाँ गन्तव्य बनाउने उद्देश्य रहेको आयोजक समाजका वरिष्ठ उपाध्यक्ष शिव लामिछानेले बताए ।
प्रतियोगितालाई बागमती प्रदेश पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र रसुवा गोसाइँकुण्ड गाउँपालिकाले सहयोग गर्ने जनाइएको छ । प्रतियोगिता आयोजनाका लागि गगनराज न्यौपाने, दिनेश तामाङ र उर्जा तामाङ सदस्य रहेको प्राविधिक टोली बनाइएको जनाइएको छ ।
