डे ब्रुएनाले प्रिमियर लिगमा छाडेको लेगेसी

जेष्ठ ८, २०८२

एएफपी

De Bruyne's legacy in the Premier League

म्यानचेस्टर — पछिल्लो एक दशकमा इंग्लिस फुटबलमा म्यानचेस्टर सिटीको एकछत्र प्रभुत्वजस्तै रह्यो । केभिन डे ब्रुएना मान्छन्, सिटीको यात्रामा आफ्नो पनि केही योगदान छ भने त्यसमा गर्व रहेको छ । यिनै ब्रुएनाले मंगलबार इतिहाडमा सिटीबाट घरेलु मैदानमा अन्तिम खेल खेले । त्यसमा सिटीले बर्नमाउथमाथि ३–१ को जित रच्यो । 

त्यस खेल अगाडि र पछाडि दुवैपल्ट उनलाई सम्मान पनि गरियो । जित आफैंले सिटीको अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सम्भावना गाढा भएको छ । बेल्जियमका यी खेलाडीले सिटीका लागि ६ पल्ट त प्रिमियर लिग नै जिते । अनि दुईपल्ट एफएकप र सन् २०२३ मा च्याम्पियन्स लिगकै उपाधि पनि । 

सिटीका लागि यो अवधि आफैंमा पनि अद्वितीय रह्यो । ब्रुएनाले सिटीका लागि ४ सयभन्दा बढी खेल खेले, यसमा १ सय ८ गोल गरे । यस्तै, १ सय ७७ गोलमा सहयोगी भूमिका पनि निभाए । यो तथ्यांकलाई मात्र आधार मान्ने हो भने पनि उनी प्रिमियर लिगको इतिहासकै एक उत्कृष्ट खेलाडी रहे ।

‘यो यात्रा आफैंमा साँच्चै अद्वितीय रह्यो, हामी सबैले खुबै रमाइलो पनि गर्‍यौं,’ ३३ वर्षीय ब्रुएनाले स्काई स्पोर्टस्लाई भने, ‘म फुटबलप्रेमी जति खुसी होस भन्ने चाहन्छु । यसका लागि हामीले आक्रामक फुटबल खेल्नुपर्छ, खेलाडी आफैं पनि सिर्जनात्मक हुनुपर्छ । मैले मैदानमा रहँदा यही काम गर्न खोजें । मलाई यस्तो गर्ने क्रममा खुसी पनि उत्तिकै मिलेको छ । पछिल्लो १० वर्ष धेरै अर्थमा आनन्दमय रह्यो । यसबीच केही बेला जितिन्छ, केही बेला हारिन्छ पनि ।’

उनले थपे, ‘मलाई त कडा मिहिनेत गर्दा पनि खुसी नै लाग्छ । मैले गरेर क्लबको प्रदर्शन अझ उच्च रहेको छ भने त्यसमा मलाई अलिकति नभएर धेरै नै गर्व रहनेछ ।’ इतिहासमा बिताएको अन्तिम रातका क्रममा ब्रुएनाको बिदाइ आफैंमा सुखमय भने रहेन । एक त उनले खेलका क्रममा केही खास अवसरमा गोल नै गर्न सकेनन् । यसबाहेक पनि यो सिजन सिटीले कुनै पनि उपाधि जित्न सकेन । त्यसैले उनको बिदाइ उनले सोचेजस्तो रहेन ।

यो बिदाइ आफैंमा भावपूर्ण भने रह्यो, कतिसम्म भने प्रशिक्षक पेप ग्वार्डिओलाले समेत आफूलाई रोक्न सकेनन् । उनको अनुहारमा आँसु देखियो । उनले पूरा अवसरलाई खराब दिन भने । पछि उनले भने, ‘आजकै खेलमा क्रममा देखियो, सिटीलाई मन पराउने जति उनीसँग कति धेरै जोडिएका रहेछन् । सबैलाई ब्रुएना र उनको परिवारप्रति माया रहेछ । उपाधि जित्न आफैंमा राम्रो हो, तर १० वर्ष एउटा क्लबमा बिताए, यति सम्मान पाइन्छ भने यो ठूलो हो ।’

ग्वार्डिओलाले ब्रुएनालाई कहिल्यै बिर्सन नसक्ने पनि बताए । उनको भनाइ थियो, ‘जति बेला ब्रुएना सिटीमा आएका थिए, मलाई थाहा थियो, उनी यो क्लबका समर्थक होइनन् । उनले कुन क्लबलाई समर्थन गर्छ, त्यो मलाई थाहा पनि छैन । तर एउटा तथ्य भने निश्चित छ, जति बेला उनले क्लब छाड्ने छन्, उनी यसैका समर्थक रहने छन् र यो समर्थन आजीवन रहनेछ । यो किन पनि हुनेछ भने जसरी सिटी समर्थकले उनीप्रति माया र समर्थन देखाएका छन् ।’ 

एएफपी

Link copied successfully