काठमाडौँ — नेपालमा पहिलो पटक युसीआई पम्प ट्र्याक विश्व च्याम्पियनसिपको छनोट प्रतियोगिता हुने भएको छ । हिमालयन सिंगल ट्र्याक र जिरो लेभल एमटीभी स्कुलले जेठ १७ मा ललितपुरस्थित पम्प ट्रयाक सेन्टरमा उक्त छनोट गर्ने भएको छ । प्रतियोगितालाई युनियन साइक्लिस्ट इन्टरनेसनल (युसीआई) र नेपाल साइक्लिङ संघले मान्यता दिएको छ ।
प्रतियोगितामा नेपाल, जापान, भारत, भुटान, अस्ट्रेलियाका गरी १ सय २० खेलाडीहरुको सहभागिता रहनेछ । खेलाडीहरुले एलिट, मास्टर्स, जुनियर्स, युथ र किड्स गरी चार इभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।
मुख्य विधाको रुपमा रहेको एलिटतर्फ पुरुष र महिला गरी २–२ खेलाडी अर्को वर्ष स्विट्जरल्यान्डमा हुने विश्व च्याम्पियनसिपमा छनोट हुनेछन् ।
त्यसमध्ये विजेता दुई खेलाडीको सम्पूर्ण खर्च आयोजकले बेहोर्ने आयोजक हिमालयन सिंगल ट्रयाकका सहमालिक जेनी कन्टले बुधवार पत्रकार सम्मेलनमा जानकारी गराइन् ।
प्रतियोगिता आयोजनालाई साथ दिएको हिमालयन राइडर्स क्लबका अध्यक्ष राज ज्ञवालीका अनुसार नेपाली खेलाडीको प्रदर्शन विश्व स्तरीय रहेको र उनीहरूको छनोट हुने सम्भावना वढी रहेको छ ।
छनोट प्रतियोगिता आयोजनाका लागि ललितपुर महानगरपालिकाले सहकार्य गरेको छ । पम्प ट्र्याक रेसिङ साइक्लिङको निकै चर्चित विधा हो । यसमा खेलाडीले विशेष रूपमा बनाइएको ट्र्याकमा प्याडल नगरी आफ्नो तौलको चाल प्रयोग गरेर पम्प गर्दै रेस अगाडि वढाउने गर्छ ।
सन् २०२२ मा विश्व च्याम्पियनसिपको प्रायोजक रहेको भेलोसोलुसनले ललितपुर १ मा निर्माण गरेको थियो ।
